ADVERTISING

Breaking News

आजदेखि वर्षाको मात्रा ह्वात्तै बढ्ने, बाढी पहिरो तथा डुबानबाट बच्न आह्वान

काठमाडौं : मौसम पूर्वानुमान महाशाखाले मनसुन देशैभर फैलिएकाले वर्षा, बाढी, पहिरो तथा डुबानबाट बच्नका लागि पूर्वतयारीमा लाग्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

आज बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुनाका साथै प्रदेश ५, गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश २ र प्रदेश १ का एक र दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको जनाएको छ ।

जसका कारण ती क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएका ठाउँमा डुबानसमेत हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध गरिएको छ ।

महाशाखाका अनुसार यही जेठ ३० अर्थात जुन १२ मा देशको पूर्वी भूभागबाट प्रवेश गरेको मनसुन हिजो अर्थात जुन २१ देखि देशैभर फैलिएको हो । महाशाखाका अनुसार सामान्यतयाः मनसुन जुन १० मा नेपालको पूर्वी भूभागबाट प्रवेश गर्छ । तर यस वर्ष मनसुन जुन १२ मा नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको थियो ।

महाशाखाले जारी गरेको बुलेटिनमा आजदेखि वर्षाको मात्रा ह्वात्तै बढ्ने र बाढी, पहिरो, डुबानको सम्भावना भएकाले सतर्कताका अपनाउन सबैलाई आव्हान गरिएको छ । आज देशैभर वर्षाको सम्भावना छ भने प्रदेश १, २, बागमती, गण्डकी र ५ नम्बर प्रदेशमा भारी वर्षाको समेत सम्भावना छ ।

leave a reply