ADVERTISING

Breaking News

स्कटल्याण्डमाथि नेपालको रोमाञ्चक जित, सिरिज क्लिन स्वीप

काठमाडौं : आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय एकदिवसीय अन्तराष्ट्रिय सिरिजमा नेपालले लगातार चौंथो जित निकालेको छ ।

टियु क्रिकेट मैदानमा मंगलबार भएको सिरिजको अन्तिम खेलमा स्कटल्याण्डलाई २ विकेटले हराउँदै नेपालले लगातार चौंथो जित निकालेको हो ।

जितसँगै नेपाल लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजमा शतप्रतिशत नतिजा निकाल्ने पहिलो टोली बनेको छ ।

त्यस्तै नेपाल लिग टुको सिरिजमा स्कटल्याण्डलाई लगातार दुई खेलमा पराजित गर्ने पहिलो टोली पनि बनेको छ ।

लगातार चौथो जित निकाल्ने क्रममा स्कटल्याण्डले दिएको २ सय १३ रनको लक्ष्य नेपालले ४४ ओभर १ बलमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालको जितमा कप्तान रोहित पौडेलले अविजित ९५ रनको अर्धशतकीय पारी खेले । करण केसीले अविजित ३१, ज्ञानेन्द्र मल्लले २१, कुशल मल्लले १७ र आसिफ शेखले १२ रन जोडे ।

आजको खेलमा रोहित पौडेल र करण केसीले नवौं विकेटका लागि अविजित ७५ रनको साझेदारी गरे । यो नेपालका लागि नवौं विकेटका लागि भएको कीर्तिमानी साझेदारी हो ।

स्कटल्याण्डका लागि मार्क वाटले ३, क्रिस ग्रेभ्सले २, सफियान सरिफ, माइृकल लिस्क र ब्रेण्डन म्याकमुलनले समान १/१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्याण्डले ४६ ओभर १ बलमा अलआउट हुँदै २ सय १२ रन बनाएको थियो ।

स्कटल्याण्डका लागि जर्ज मुन्शेले सर्वाधिक ६०, म्याथ्यु क्रसले ४२, ब्राण्डन म्याकमुलनले ३१, क्रिस्टोफर म्याकब्रिड र कायल कोट्जरले समान २२/२२ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ४, करण केसीले ३, कुशल मल्ल र ललित नारायण राजवंशीले समान १/१ विकेट लिए ।

यस खेलसँगै नेपालका बलर करण केसीले एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट लिएका छन् । केसी नेपालका लागि एकदिवसीय अन्तराष्ट्रियमा ५० विकेट पूरा गर्ने तेस्रो नेपाली खेलाडी बनेका छन् ।

नेपाल २८ खेलमा १२ मा जित र १४ मा हारसहित २६ अंकका साथ छैटौं स्थानमा छ । बाँकी रहेको ८ खेलमा कम्तिमा ६ खेल जितेमा नेपालको एकदिवसीय अन्तराष्ट्रिय मान्यता कायम हुनेछ ।

विश्वकप लिग टुमा स्कटल्याण्डको यो अन्तिम खेल रहेको थियो । तीन खेल बाँकी रहदै लिग टु को च्याम्पियन बनेको स्कटल्याण्डले नेपालसँगको खेलपछि ट्रफि पाएको छ ।

leave a reply