ADVERTISING

Breaking News

राहदानी बनाउने भिड लाग्यो, टोकन लिनकै लागि ११ घण्टा लाइनमा

काठमाडौ । वैदेशिक रोजगारको लागि होस् या विदेश जानको लागी राहदानी अनिवार्य हुन्छ । पछिल्लो दुइ महिना यता राहदानी बनाउनेको संख्या अत्यधिक बढेको छ । राहदानी विभागमा भिड बढ्दा सेवाग्राहीले सधै जसो सास्ती बेहोर्नु परिरहेको छ । राहदानी बनाउने लाइनमा युवा–युवतीहरु बढी देखिन्छन् । छिटै पालो आउने आशमा कतिपय सेवाग्राहीहरु विहान ३ बजेबाट लाइनमा समेत बसेका छन् । लाइन बसेर टोकन लिएपछि मात्र राहदानीका लागि प्रक्रिया सुरु हु्न्छ । टोकन लिनकै लागि ११ घण्टा लाइनमा बस्नुपर्ने बाध्यता छ ।

चाडबाड सकिनै लाग्दा बैदेशिक रोजगारीको लागी राहदानी बनाउनेको भिड बर्षेनी यस्तै हुन्छ । नयाँ राहदानी लिने मात्र नभई पुरानो नविकरण गर्ने, राहदानी हराएका देखि विभिन्न समस्यामा परेका सेवाग्राही लाइनमा छन् । दैनिक हजार जना सेवाग्राहीलाई सेवा दिन सक्ने क्षमता भएको विभागमा पछिल्लो समय व्रिटिस आर्मी, इजरायल जाने र अमेरिकी डिभी चिट्ठा एकैचोटी खुलेका कारण राहदानी बनाउन आवेदन दिनेहरुको संख्या बढेको विभागको भनाइ छ ।
विभिन्न जिल्लाका सेवाग्राहीहरु छिटो छरितो राहदानी बनाउने आशले गर्दा केन्द्रिय राहदानी विभागमा आएका हुन् । तर विभागमा भने राहदानी बनाउनेका भिड अत्यधिक छ । विभागमा पछिल्लो दुई महिना देखि दैनिक दुई हजार पच्चिस सयसम्म सेवाग्राही आउने गरेका छन् । तर विभागले दैनिक एकहजार भन्दा बढीलाइ सेवा दिन सकिरहेको छैन । विभागले एमआरपीको सट्टामा इ–पासपोर्ट जारी गर्न लागेकोले अति आवश्यक हुनेले मात्र राहदानी बनाउन आग्रह गरेपनि विभागमा भिड घटेको छैन ।

leave a reply