चौबिस वर्ष देखि वनपाखामा भेँडा बाख्रा सँग रमाउँदै दुरजङ

लमजुङ । लमजुङ दोर्दी गाउँपालिका–५ सिम्रुङका ५२ वर्षीय दुरजङ गुरुङ विगत २४ वर्ष देखि भेडा बाख्रा चराउँदै श्रीमञ्जाङ देखि ओखरी, साल्मे, सिम्रुङ हुँदै लेपेखर्क सम्म पुग्छन् । फेरि हिउँद लागेपछि लेपेखर्क देखि सो स्थान हुँदै श्रीमञ्जाङ सम्म भेडाको बथानको पछि लाग्दै पुग्छन् ।

बितेका २४ वर्ष उनलाई २४ दिन जस्तै लाग्छ । भेडा बाख्रालाई आफ्नो सन्तान जत्तिकै माया गर्ने उनलाई भेडाका बथानको पछि लाग्दालाग्दै समय बितेको पत्तै पाएन । भेडा बाख्रा पछि लागेको उनी आज सम्म तीनै भेडा बाख्राको पछि पछि लागिरहेका छन् । 

गोठाला गुरुङ बाबाको मुत्यु, दाइ र ठूलो बाबाहरुले दुःख भयो भनेर गोठ छाडेपछि गुरुङ समुदायको पुख्र्यौली पेसा धान्न, केही पैसा कमाउन र जीवन धान्ने पेसा बनाउनका लागि विसं २०५७ मा कक्षा १० को टेस्ट फेल भएपछि यही गोठ सम्हाल्दै आएका छन् । उनले शुरुमा आफ्नो सहित २८ जनाको ८०/९० वटा भेडा बाख्रा रहे पनि अहिले सङ्ख्या बढाउँदै दूधपोखरी गाउँपालिका–६ जोर्नेको २१ घर र सिमु्रङको गरी ४५ घरका सानाठूला गरेर आठ सय भन्दा बढी भेडाबाख्रा रहेको सुनाए। उनलाई तीन जनाले सघाउँदै आएका छन् ।

मान्छे बाहेक चार वटा कुकुरले पनि सुरक्षा दिँदै आएको छ । यतिका भेडाबाख्रा हुनु अघि करिब पाँच वर्ष अघि सात सय वटा रहेको र एकै चोटि तीन सय वटा भेडाबाख्रा बिक्री गरेको र चार सय सङ्ख्या बाट बढ्दै हाल सो सङ्ख्यामा पुगेको भंडी गोठाला गुरुङले बताए । उनले  भने, “यस भेडी गोठ बाट बर्सेनि १५/१६ लाख बराबरको भेडा बाख्रा बिक्री हुने गरेको छ । भेडा एक वर्षकोलाई १५ हजार, दुई वर्षकोलाई २० हजार तथा तीन वर्षकोलाई ३० हजार, यसरी नै बिक्री हुने गरेको बताइएको छ । 

विशेषगरी दशैं तिहार, मङ्सिर, पुस र फागुन महिनामा भेडा बाख्राको माग हुने गरे पनि विगतको वर्षहरुमा जस्तो अचेल बिक्री कम हुन थालेको छ । पहिला भेडा बाख्रा जता ततै थिएनन्, अहिले घरघरमै हुन थालेपछि माग घट्न थालेको भेडीगोठाला गुरुङले दुखेसो गरे । गोठका लागि प्रतिदाताहरुले कम्तीमा एक हजार देखि माथि दिने गर्ने र अन्नपानी पनि दिने गरेको र सोही भरमा आफूहरुले गुजारा चलाउँदै आएको उनले सुनाए । उनले तीन जना गोठालाहरुलाई वार्षिक  एक(एक लाख दिने गरेको र आफूले अन्य खर्च गरेर लिने र नरहे नलिने गरेको बताए । भेडा बाख्राले अरूको अन्नबाली खाएमा क्षतिपूर्ति दिने गरेको छ ।

चरन क्षेत्र अभाव, खर्क जाने आउने बाटो समस्या, मौसम परिवर्तनले विभिन्न समस्या हुँदा भेडीगोठ धान्न गाह्रो भएको र दुःख अनगिन्ती रहेको उनले बताए । आफूले पालेको भेडा बाख्रा बिक्री गरेर वार्षिक डेढ लाख जति आम्दानी हुने गरेको छ, तर बाघभालुले नोक्सान गर्‍यो भने त्यही पनि नहुने उनको भनाइ छ । उनले यही गोठाला गरेर सो बिक्री बाट आएको रकमले श्रीमती, दुईवटा छोरी र एक छोराको जीवन चलाउँदै आएका छन् । उनले भने, “कान्छी छोरीको त विवाह भयो, यतिबेला कान्छी छोरी बाहेक हाम्रो जीवन यसै पैसा बाट दुःखले चलाएको छु, सुखचैनले जीवन चलाउन पाएन । अरू पेसा पनि जानेको छैन, जे जस्तो भए पनि यही पेसा गरिरहेको छु, यसैमा रमाउनुको विकल्प नभएको गोठाला गुरुङले बताए । 

आफ्नो पाला सम्म आफूले भेडीगोठ धाने पनि नयाँ पुस्ताले भेडीगोठ प्रति बेवास्ता गर्दा भेडीगोठ लोप हुन लाग्यो, चिन्ता लाग्छ, सरकारले नै नयाँ पुस्तालाई प्रोत्साहन गर्दै तालिम दिएर भेडीगोठ जोगाउनुपर्नेमा उनले जोड दिए । उनले भने, “चैत–वैशाखमा बेँसीमा घाँस सकिन्छ, लेकमा घाँस पलाउँदैन, हिउँ परिरहन्छ, घाँसको समस्या छ ।”  खर्कमा एक भारी दाउरा जोहो गर्न पनि एक दिनभरि लाग्ने गरेको छ । सामुदायिक वनमा चराउनका लागि पनि दैनिक पैसा बुझाउनुपर्छ । कुनै पनि सामुदायिक वनमा अनुमतिबिना भेडा बाख्रा गएमा क्षतिपूर्ति दिँदै आएको उनको भनाइ छ । लेक खर्कमा भेडीगोठालाई समस्या नै समस्या भइरहेको हुन्छ । फोन लाग्दैन, फोन लाग्ने ठाउँ खोज्नुपर्छ । सामान्य दुःख बिमार हुँदा जङ्गलकै जडीबुटी खाएर बस्छौँ, तर ठूलो बिरामी भएर वा कुनै घटना घट्दा बेँसी सम्म आउन १० दिन लाग्छ उनले भने ।

यसैबीच, दोर्दी गाउँपालिका पशुपन्छी शाखाका कर्मचारी प्रवीण रेग्मीले रु १५ लाख बजेट रहेकाले सबै भेडीगोठका भेडा बाख्रालाई आन्तरिक परजीवीका औषधि खुवाउने औषधिमा डुबाउने मात्र गर्दै आएको बताए । 

भेडीगोठ लोप हुन नदिन र गोठालाहरुका लागि विभिन्न कार्यक्रम गर्दै आए पनि हाल पर्याप्त बजेट नभएकाले सबै समस्याको हल हुन नसके पनि आगामी वर्षहरुमा सम्बोधन गर्दै जाने दोर्दी गाउँपालिका अध्यक्ष युवराज अधिकारीले बताए । 
रासस 
 

प्रतिक्रिया