किवीको बिरुवा बिक्री गरेर वार्षिक ५ लाख आम्दानी

डडेल्धुरा । किवीको बिरुवा बिक्री गरेर आलिताल गाउँपालिका–२ का लक्ष्मण थापामगरले वार्षिक ५ लाख आम्दानी गर्दै आएका छन् ।

उनले विगत तीन वर्ष देखि ध्रुव कृषि फार्म सञ्चालन गर्दै आएका छन् । थापामगरले अहिले डडेल्धुरामा उत्पादन गरिएका विभिन्न प्रजातिका किवीका बिरुवा सुदूरपश्चिमका विभिन्न जिल्लामा बिक्री गर्छन् ।  फार्म बाट रेडकिवी, हेवार्ड, ब्रुनो, मन्टी एलिसन, जेसबेरी र ग्रिन क्विन गरी छ प्रजातिका किवीको बिरुवा उत्पादन तथा बिक्री भइरहेको छ । 
 
उनले आलिताल –२ को लामिटुडामा रहेका फार्मको शाखा अमरगढी–२ कुस्मालीमा पनि स्थापना गरेका छन् ।  लामिटुडा स्थित फार्ममा करिब १५ रोपनी जमिनमा व्यावसायिक रूपमा किवीखेती गर्दै किवीको बेर्ना समेत उत्पादन गरिरहेको बताए । 

फार्ममा हाल पाँच हजार बिरुवा उत्पादन गरी सुदूरपश्चिमका पहाडी जिल्लामा बिक्री गरिरहेको सञ्चालक थापाले जानकारी दिए । किसानहरूको माग अनुसार किवीका बोट उपलब्ध गराइरहेको र प्रति बोट १ सय ५० का दरले बिक्री गरिरहेको उनले जानकारी दिए । डेढ रोपनी क्षेत्रफलमा उनले किवीको बेर्ना उत्पादन गरिरहेका छन् ।  किवीको बेर्ना जोगाउन एक–एक हप्तामा गोडमेल गर्नुपर्ने थापाले बताए । बेर्ना बिक्री गरेरै वार्षिक ५ लाख आम्दानी गरिरहेको थापाले आफूले किवीखेती शुरु गर्दा प्रति बोट ५ सयका दरले किनेर लगाएको बताए ।

अहिले डडेल्धुरा जिल्लामा ४०–५० किसानले किवीखेती गर्दै आएका छन् । शुरुमा एकपटक लगानी गरेपछि ४०–५० वर्ष सम्म उत्पादन दिइरहने र बजारको अभाव नहुने भएपछि किसान किवीखेती तर्फ आकर्षित भएका कृषि ज्ञान केन्द्रका प्रमुख नरेन्द्र पनेरुले बताए । उनले भने, “किवीखेतीका लागि मौसम अनुसार पनि डडेल्धरा उपयुक्त मानिने हुदाँ त्यस तर्फ किसान बढी आकर्षित भएका छन् ।
रासस 

प्रतिक्रिया