तराई मधेसमा लगातार पाँचदिनसम्म तातो हावा चल्ने सम्भावना

सतकर्ता अपनाउन र आवश्यक तयारी गर्न चेतावनी

तराईका जिल्लामा आजदेखि तातो हावा चल्ने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आजदेखि पाँचदिनसम्म केही स्थानको तापक्रम अत्यधिक हुने र तातो हावा चल्ने चेतावनी दिएको हो ।विगत केही दिनदेखि देशका अधिकांश भू–भागहरूको तापक्रम बढेको छ । लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा बिगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको छ ।भैरहवा, नवलपुरको दुम्कौली, रौतहटको गौर, सर्लाहीको कर्मैया, जनकपुर, नेपालगन्जसहितका क्षेत्रमा हरेक दिन अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघ्ने गरेको छ । शनिबार सबैभन्दा बढी भैरहवामा ४२.२ र त्यसपछि नेपालगन्जमा ४०.५, धनगढीमा ३९.८ डिग्री सेल्सियस तापक्रम मापन भएको छ । तापक्रम वृद्धिको यो दर कायमै रहेकाले तराईमा कम्तीमा २० वैशाखसम्म तातो हावा तथा तातो लहरको चेतावनी महाशाखाले दिएको हो । आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषण अनुसार तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना रहने हुनाले आवश्यक तयारी गर्न विभागले भनेको छ । तराइ क्षेत्रमा बैशाख २० गतेसम्म तातो हावा तथा तातो लहरको सम्भावना छ । तराई मात्र होइन उपत्यका क्षेत्रमा पनि तापक्रम उच्च छ । शनिबार काठमाडौंमा ३२.७, पोखरामा ३१.३, घोराहीमा ३७.३, वीरेन्द्रनगरमा ३९.१ र दिपायलमा ३७.५ डिग्री सेल्सियस मापन भएको छ । पहाडी भू–भागका उपत्यका तथा खोँचहरूमा समेत तापक्रम क्रमिक रुपमा बढ्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ । तातो हावा तथा तातो लहरबाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशीहरू दुख्ने, बान्ता आदि हुनसक्ने महाशाखाले जनाएको छ ।। 

प्रतिक्रिया