कुनैपनि शक्ति सामू आफू नझुक्ने इजरायली प्रधानमन्त्री नेतान्याहुको अमेरिकालाई चेतावनी

काठमाडौ । इजराइली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले विश्वको कुनैपनि शक्ति सामू आफू नझुक्ने बताएका छन् । अमेरिकाले रफाहमाथि आक्रमण गर्ने इजराइली हठपछि हतियार नपठाउने निर्णय गरे लगतै नेतन्याहूको उक्त बयान सार्वजनिक भएको हो । उनले गाजामा युद्ध रोक्नका लागि जतिसुकै दबाब आएपनि हमासलाई सिध्याएरै छाड्ने दोहो¥याएका छन । इजराइलको वार्षिक होलोकास्ट रिमेम्बरेस डेको अवसरमा आयोजित एक समारोहलाई सम्बोधन गर्दै उनले इजराइललाई युद्धमा एक्लै लड्नु पर्यो भने पनि पछि नहटने बताएका हुन । उनले ८० वर्षपछि फेरि इजराइललाई विनाश गर्नका लागि शत्रुहरू लागिपरेको भन्दै कुनैपनि अन्तर्राष्ट्रिय दबाब वा निर्णयले इजराइललाई आफ्नो रक्षा गर्नबाट रोक्न नसक्ने बताए । पछिल्लो समय रफाहमाथि आक्रमण गर्ने चेतावनी दिँदै आएको इजराइललाई विभिन्न अन्तर्राष्ट्रिय समुदाय र अमेरिकाले रफाहमाथि आक्रमण नगर्न भन्दै आएको छ । उता हमासले प्यालेस्टिनी क्षेत्रमा सात महिनादेखि जारी युद्धमा युद्धविराम खोज्ने वार्तालाई रोक्न इजराइल गाजाको रफाहमा आक्रमण गरेको आरोप लगाएको छ । इजिप्टको सीमा नजिकै प्यालेस्टिनीले आश्रय लिएको रफाहमा ट्यांक पठाएर इजराइलले अन्तर्राष्ट्रिय आपत्तिको अवहेलना गरेको आरोप हमासले लगाएको हो । युद्धविराम सम्झौतालाई बलियो बनाउने उद्देश्यले कतार, अमेरिका र हमासका प्रतिनिधिमण्डलको वार्ता प्रयास भने जारी छ । इजरायलको आक्रमणले गाजामा मृत्यु हुनेको संख्या झन्डै ३४ हजार पुगेको छ । त्यहाँ करिब ८५ प्रतिशत जनसंख्या विस्थापित भएको तथ्यांकले देखाएको छ ।
 

प्रतिक्रिया