लगानीकर्ताको मनोबल उच्च राख्दै आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले उद्योगी, व्यवसायीलगायत लगानीकर्ताको मनोबल उच्च राख्दै देशको आर्थिक रूपान्तरणमा गति दिन सरकार प्रतिबद्ध रहेको बताएका छन् ।  लक्ष्मी मोटर कर्पोरेसनको ‘हुन्डाई मोटर एसेम्बलिङ’ शुभारम्भ कार्यक्रमलाई आज नवलपरासीमा सम्बोधन गर्दै उनले आर्थिक विकास गरेर देशलाई समृद्धिको यात्रामा अगाडि बढाइने बताएका हुन । निजी क्षेत्रलाई विश्वासमा लिएर अर्थतन्त्र सुदृढीकरण गरिने बताउँदै प्रधानमन्त्री दाहालले लगानी सहजीकरण गर्न सरकार प्रतिबद्ध रहेको बताए । 
प्रधानमन्त्री दाहालले औद्योगिकीकरणसँगै आयात प्रतिस्थापन हुने र सयौँ दक्ष एवं अर्धदक्ष कामदारहरूका निम्ति रोजगारी प्राप्त गर्ने विश्वास प्रकट गरे । नेपालमा नै एसेम्बलिङ गर्दा उपभोक्ताले सहुलियत मूल्यमा सवारीसाधन खरिद गर्न पाउनुका साथै आन्तरिक स्रोत एवं विद्युतको खपत, स्थानीय विकासमा साझेदारी र कुल गार्हस्थ उत्पादनमा समेत सकारात्मक योगदान पुग्ने प्रधानमन्त्रीको भनाइ छ । उनले लगानी सम्मेलनमा देखिएको उत्साह, नेपालका राजनीतिक दलहरूमा देखिएको साझा दृष्टिकोण र प्रतिबद्धता एवं लगानीकर्ताहरूको आकर्षणले नेपाल छिट्टै आकर्षक लगानीको गन्तव्य मुलुक बन्ने संकेत गरेको पनि बताए । 

प्रतिक्रिया