लुम्बिनी प्रदेशमा आगलागीले करोडौंको क्षति, पीडित खुला आकाशमुनि बस्न बाध्य

केही दिनयता लुम्बिनी प्रदेशमा ३ सयभन्दा बढी ठाउँमा लागेको आगलागीले करोडौंको क्षति भएको छ । सयौं घरगोठ जलेर नष्ट भएको छ । प्रदेशमा रहेको चुरे, महाभारत र तराईका साझेदारी वन क्षेत्रमा लागेको डढेलो हावाहुरीले बस्तीमा पुगेपछि क्षति बढेको हो । प्रदेशको ११ हजार ४ सय ४८ हेक्टर वनमा डढेलो लागेको छ ।  प्रदेशका विभिन्न ३ सय स्थानमा डढेलो लागेको र सबै जिल्लामा लागिरहेकोले क्षतिको विवरण आइसकेको छैन । प्रदेशको पूर्वी रुकुममा २३ हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ भने कपिलवस्तुको २१ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ ।उता, दाङमा २५ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको छ भने बर्दिया जिल्लामा ८० स्थानमा डढेलो लागेको छ। अर्घाखाँची जिल्लामा लागेको डढेलोबाट ३५ घर गोठ जलेको वन कार्यालयले जनाएको छ । यस्तै गुल्मीमा लागेको डढेलो पनि नियन्त्रणमा आएको छ । गुल्मीमा डढेलोबाट सबैभन्दा बढी क्षति भएको वन कार्यालयले जनाएको छ । गुल्मीको इस्मा गाउँपालिकामा आगलागीबाट ४१ वटा घर जलेका छन् भने ४८ वटा गोठ जलेका छन् । आगलागीमा ८३ वटा पशु चौपाया जलेका छन् । गुल्मीमा तीन दिनदेखि लागेको डढेलोले करोडौंको क्षति भएको छ । सामुदायिक वन र निजी वनबाट सल्केको डढेलोले ६७ भन्दा बढी घर गोठ जलेका छन् । दर्जनौँ चौपाया गोठमै जलेर मरेका छन् । आगलागीले विस्थापित परिवार छिमेकीको घरमा आश्रय लिएर बसिरहेका छन् ।आगलागी क्षेत्रमा, स्थानीय पालिका, जिल्ला प्रशासन, सुरक्षा निकाय, डिभिजन वन कार्यालय लगायतको टोली परिचालन गरिएको छ । इस्माको हुल र कोटकोटेरी दुई स्थानमा डढेलो लागेको छ । लामो समयदेखि वर्षा नहुँदा र अहिले बाढीले यहाँको जनजीवन प्रभावित भएको छ । पानीको अभाव र सुक्खा मौसमका कारण रुपन्देहीका विभिन्न स्थानमा आगलागी हुँदा चौपाया, अन्नबाली एवं घरमा क्षति भएको छ । रुपन्देहीमा गहुँको नलबाट सुरु भएको आगो बतासका कारण फैलिँदा बिष्णुपुरा, पर्सा, बुची, बरवा, तर्कुलहा, कोटहवा, चम्कीपुर हुँदै प्रिप्रहवामा क्षति भएको छ । नवलपरासी, प्यूठान, दाङ, बाँके, बर्दियाका विभिन्न क्षेत्रमा आगलागी भएको छ । 

प्रतिक्रिया