पश्चिमी वायुको प्रभावले काठमाडौं उपत्यका सहित बागमती र कोशीमा बर्षा

झण्डै छ महिनापछिको बर्षाले मधेसका किसान उत्साहित

पश्चिमी वायु र स्थानीय वायुको प्रभावका कारण आज देशभरको मौसम बदली भएको छ । जसकारण काठमाडौँ उपत्यकासहित बागमती, मधेश र कोशी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यो प्रभाव पूर्वी नेपालमा बढी र पश्चिममा कम रहेको छ । मौसम विज्ञान विभागअन्तर्गतको जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिनभरनै देशको पूर्वी भागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।काठमाडौँमा बिहीबार पनि छिटपुट वर्षा हुने सम्भावना रहेको मौसम विभागले जनाएको छ । गण्डकी प्रदेशदेखि पूर्वमा बिहीबार पनि वर्षाको सम्भावना छ ।गण्डकीदेखि पश्चिमको भूभागमा भने तुलनात्मक रूपमा कम बदली छ । बदली पनि पहाडी क्षेत्रमा बढी र तराई क्षेत्रमा कम छ । बदली र वर्षा भएका स्थानमा जाडो महसुस भएको छ । पर्सिदेखि मात्र मौसममा सुधार हुँदै सुधार हुने मौसमविदले बताएका छन । यसैगरी, धनुषालगायत मधेश प्रदेशका जिल्लामा झण्डै छ महिनापछि वर्षा भएको छ । अन्तिम पटक असोज दोस्रो साततिर वर्षा भएको थियो । त्यसयता पहिलो पटक आज वर्षा भएको हो । वर्षापछि यहाँका किसान खुसी भएका छन् । लामो खडेरीका कारण बालीनाली सुक्दै गएका बेला भएको यो वर्षाले बालीनाली सप्रिने भन्दै किसान खुसी भएका हुन् । सबैभन्दा बढी तरकारी बालीलाई फाइदा पुग्ने र आँप, कटहरलगायत तराईमा फल्ने मौसमी फलफूललाई पनि फाइदा पुग्ने किसानको भनाइ छ । वर्षासँगै चलेको हावाले गहुँको बोट खेतमै लडाउने अथवा घर भित्र्याउन काटेर राखेको गहुँ भिजेर नोक्सान हुनसक्ने अनुमान छ ।। 
 

प्रतिक्रिया