उखु महोत्सवबाट गुल्मीको छत्रकोटका किसान उत्साहित

गुल्मीको छत्रकोट गाउँपालिकामा भएको उखु महोत्सवबाट किसान उत्साहित भएका छन् । उखुको उत्पादनलाई थप व्यवसायिक बनाउँदै खेती प्रवर्द्धन र विकास तथा बजारीकरणका लागि गाउँपालिकाले हिजो दिगाममा एक दिने उखु महोत्सव गरेको हो । पालिकालाई उखुमा आत्मनिर्भर बनाउनका लागि गरिएको महोत्सवमा परम्परागत शैलीमा गोरुको प्रयोग गरी उखु पेल्ने, खुदो र गुड बनाउने तथा उखुको रसबाट उत्पादित सामग्री प्रदर्शनीमा राखिएको थियो । महोत्सवमा स्थानीय जातको सेतो कोसेर, रातो कोसेर, कालो कोसेर, जीतपुर कोसेर एवम् पुरानो जातका उखुहरु प्रदर्शन गरिएको थियो । गाउँपालिकाले वडा नम्बर–४ दिगाममा पहिलो पटक महोत्सव गरेको हो । छत्रकोट गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले उखुको प्रवर्धन र विकाससँगै किसानलाई थप व्यवसायिक बनाउन महोत्सव आयोजना गरिएको बताए । छत्रकोट गाउँपालिकामा मात्रै झण्डै तीन सय जना किसान व्यवसायिक उखु खेतीमा लागेका छन् । गुल्मीमा यसवर्ष पाँच सय ८९ मेट्रिकटन उखुजन्य पदार्थ (खुदो र गुड) उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख नवराज भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया