इरानद्वारा इजरायलमा दर्जनौं ड्रोन र क्षेप्यास्त्र प्रहार

इरानले इजरायलमा दर्जनौं ड्रोन र क्षेप्यास्त्र प्रहार गरेको छ। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स आईआरजीसी ले गएराति  ‘ट्रु प्रोमिस’ अपरेसन अन्तर्गत ड्रोन र क्षेप्यास्त्र आक्रमण गरेको हो । ‘इजरायली अपराधहरू’ को सजायको हिस्सास्वरूप आक्रमण गरिएको उसको भनाइ छ । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इरानको आक्रमण विफल पारेको बताएका छन । इरानबाट प्रक्षेपित क्षेप्यास्त्र र ड्रोनहरू खसाल्न इजरायली सेनाले प्रतिरक्षात्मक कारबाही गरेपछि तेल अबिब र जेरुसेलमलगायत इजरायलका सहरहरूमा हवाई आक्रमणको साइरन र विस्फोटको ठूलो आवाज सुनिएको थियो । इरानले २ सय बढी ड्रोन र क्षेप्यास्त्रमार्फत् आक्रमण गरेको इजरायलले जनाएको छ । इरानले प्रहार गरेका केही ड्रोनलाई इजरायलले र केहीलाई अमेरिकी सेनाले निष्कृय पारेका छन् ।तेहरानले सिरियामा रहेको इरानी वाणिज्य दूतावासमा इजरायली हमलाको जवाफमा इरानले आक्रमण गरेको हो । दूतावासमा इजरायलले गरेको आक्रमणमा आईआरजीसीका सात सदस्यको मृत्यु भएको झण्डै दुई सातापछि यो आक्रमण भएको हो । यसैबीच इजरायलले भने इरानको आक्रमणको खुलेर सामना गर्ने धम्की दिएको छ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इरानको कुनै पनि आक्रमणको डटेर सामना गर्ने भन्दै आफना सैनिकहरुलाई हमास र इरानसँग एकसाथ आक्रमण गर्न निदेशन दिएका हुन । प्रधानमन्त्री नेतान्याहुले मन्त्रीपरिषदको बैठक आव्हन गरी इजरयाली डिफेन्स फोर्सलाई इरानी आक्रमणको सामना गर्न तयारी अवस्थामा राखेका छन । यसैबीच संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनी गुट्रेसले इरानले इजरायलमाथि गरेको आक्रमणको कडा निन्दा गरेका छन् । यस्तै अमेरिकाले इजरायललाई आफ्नो पूर्ण समर्थन रहेको भन्दै आक्रमण नगर्न इरानलाई चेतावनी दिएको छ । राष्ट्रपति जो बाइडेनले यदी इरानले इजरायलमा आक्रमण गरेमा आफूहरु चुप नबस्ने र इरानको हार निश्चित हुने चेतावनी दिएका छन् । इजराइलमाथि आक्रमण भएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले इसराइली प्रधानमन्त्री बेन्यामिन नेतेन्याहुसँग टेलिफोन वार्ता गरेका छन । बेलायतका रक्षामन्त्री ग्रान्ट शाप्सले मध्यपूर्वमा रहेको आफ्नो सम्पत्तिको रक्षा गर्न आवश्यक कदम चालिने बताएका छन । इरानी आक्रमणलगत्तै इजरायल, लेवनान र इराकले आफनो देशको हवाई क्षेत्र बन्द गरेको छ भने सिरिया र जोर्डनले भने हवाई सुरक्षा सतर्कता अपनाएको छ ।
 

प्रतिक्रिया