वेस्ट इन्डिजको ‘ए’ टोली वैशाख दोस्रो साता नेपाल आउने

काठमाडौं । टी–२० क्रिकेट प्रतियोगिताका लागि वेस्ट इन्डिजको ‘ए’ टोली वैशाख दोस्रो साता नेपाल आउने भएको छ । विश्वकपको तयारीका लागि नेपाली राष्ट्रिय टोलीले वेस्ट इन्डिजको ‘ए’ टोलीसँग टी–२० शृंखला खेल्न लागेको हो । नेपाल र वेस्ट इन्डिजबीच पाँच वटा खेल हुनेछ । सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तय भएको छ । पहिलो खेल वैशाख १५ गते हुनेछ। त्यसपछि दोस्रो खेल वैशाख १६ मा, तेस्रो खेल वैशाख १९ मा, चौथो खेल वैशाख २० र पाँचौ खेल वैशाख २२ मा हुनेछ। सबै खेल दिउँसो १ बजेबाट शुरु हुनेछन । यसअघि नेपाल र वेस्ट इन्डिजले एक खेलमा प्रतिस्पर्धा गरेका छन् । एकदिवसीय विश्वकपको छनोट चरण अन्तर्गत गत वर्ष हरारे स्पोर्ट क्लबमा प्रतिस्पर्धा भएको थियो । त्यसमा वेस्ट इन्डिजले नेपाललाई १०१ रनले पराजित गरेको थियो । आगामी जुन १ देखि २९ तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा टी–२० विश्वकप आयोजना हुँदैछ । नेपाल र वेस्ट इन्डिज पनि यो विश्वकपमा छनोट भएका छन् ।  विश्वकपको लिग चरणमा नेपाल र वेस्ट इन्डिजबीच प्रतिस्पर्धा हुनेछैन । नेपालमा समूह डी मा छ भने वेस्ट इन्डिज समूह सीमा रहेको छ । नेपालले नेदरल्यान्डस्, श्रीलंका दक्षिण अफ्रिका र बांलादेशसँग प्रतिस्पर्धा गर्नेछ । वेस्ट इन्डिजले पपुवा न्युगिनी, युगान्डा, न्युजिल्यान्ड र अफ्नानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया