नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेटमा आयरल्यान्ड ‘ए’सँग खेल्दै

काठमाडौं । नेपाल ‘ए’ले दोस्रो एकदिवसीय क्रिकेट आज आयरल्यान्ड ‘ए’सँग खेल्दैछ । खेल बिहान साढे ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु हुनेछ । नेपाल पहिलो खेलमा २१ रनले पराजित भएको थियो । तीव्र गतिका बलर कमलसिंह ऐरीले ह्याट्रिकसहित चार विकेट लिएपछि आयरल्यान्ड १५७ रनमा अल आउट भएको थियो । तर म्याथ्यु हम्फ्रेजले ५ र लियाम म्याकार्थीले ४ विकेट लिएपछि नेपाल १३६ रनमा अलआउट भएको थियो । नेपालको प्लेइङ ११ मा अर्जुन कुमाल बाहेक अन्य सबै सिनियर टोलीबाट खेलेका खेलाडी थिए । ओडीआईका प्रमुख दुई ब्याटर भीम सार्की र आरिफ शेख शून्य रनमा आउट भएका थिए । देव खनाल र अर्जुन साउद पनि टोलीमा छन् । सिनियर टोलीका यी चार खेलाडी मध्य दुईले आज ठूलो इनिङ खेल्नुपर्ने छ । नेपालको तीव्र गतिका बलरमा कमल र रिजन ढकाल हुनेछन् । स्पिनरमा सागर ढकाल, साहब आलम र मौसम ढकाल हुनेछन् । आयरल्यान्ड ‘ए’ र नेपालको सिनियर टोलीबीच दुई टी–२० खेल भएको थियो । दुवै खेलमा नेपाल विजयी भएको थियो । नेपाल ‘ए’सँग तीन टी–२० सिरिज आयरल्यान्डले २–१ ले जितेको थियो । तीन एकदिवसीय सिरिजको अन्तिम खेल आइतबार हुनेछ ।

प्रतिक्रिया