पाशुपत क्षेत्रमा महाशिवरात्री पर्वका लागि सम्पूर्ण तयारी पूरा

शुक्रबार सात लाख भक्तजन पशुपतिनाथको दर्शन गर्ने अनुमान

भोलीदेखि पशुपतिमा हुने शिवरात्री मेलाको तयारी पूरा भएको छ । पशुपति क्षेत्र विकास कोषले लाममा बसेका भक्तजनलाई जति सक्यो छिटो पशुपतिनाथको दर्शन गराउने व्यवस्था गरेको जनाएको छ । यसपटक कोषले ७ लाख भक्तजन पशुपतिनाथको दर्शन गर्न आउने अनुमान गरेको छ । कोषले महाशिवरात्रिलाई व्यवस्थित रूपमा मनाउन ६ हजार स्वयंसेवक परिचालन गर्ने भएको छ । महाशिवरात्रिका दिन चारै ढोकाबाट पशुपतिनाथको दर्शन गर्ने व्यवस्था मिलाइएको छ । लाममा बसेको १० मिनेटभित्र दर्शन गराउने कोषको लक्ष्य रहेको छ । कोषले पहिलो पटक बागमती नदीमा सङ्लो पानीको व्यवस्था गरेको छ । मन्दिरमा आउने भक्तजनले बागमतीमा नुहाएर मात्र पशुपतिनाथको दर्शन गर्ने इच्छा राखेकाले यस्तो ब्यवस्था गरिएको हो । पशुपतिनाथ मन्दिरमा बुधबारसम्म हजारको हाराहारीमा साधुसन्त आइसकेका छन् । उनीहरू धुनी जगाएर बसेका छन् ।  अन्य साधुसन्त आउनेक्रममा छन् ।  साधुसन्तका लागि कोषले विभिन्न अखडा र निःशुल्क खानेबस्ने व्यवस्था मिलाएको छ । कोषले भक्तजनका लागि पनि पयाएप्त शौचालयको व्यवस्था मिलाएको जनाएको छ । पशुपति क्षेत्रको चार किलाभित्र माछा, मासु र मदिरा प्रतिबन्ध गरिएको छ ।। 
 

प्रतिक्रिया