निर्माण व्यवसायीले गरे आन्दोलनको घोषणा
काठमाडौं । निर्माण आयोजनाको भुक्तानी सरकारले समयमा नै भुक्तानी नगरेपछि निर्माण व्यवसायीले आन्दोलनको घोषणा गरेका छन् ।
निर्माणको मूख्य सिजनमा सिमेन्ट, डण्डी लगायत समाग्रीमा भएको मुल्यबृद्धि तथा कालोबजारी रोक्न माग गर्दै नेपाल निर्माण व्यवसायी महासंघले चौध बुँदे माग सहित आन्दोलन घोषणा गरेको हो । महासंघ अध्यक्ष रवि सिंहले पहिलो चरणमा प्रधानमन्त्री र विकास निर्माण सम्बन्धी मन्त्रीहरूलाई ज्ञापनपत्र दिएर आन्दोलन सुरु गर्ने जानकारी दिए ।
व्यवसायीहरुले माग पुरा नभए काठमाण्डौ भित्रिने पूर्व पश्चिम नाकाहरु समेत ठप्प पार्ने चेतावनी दिएका छन् । माघ १८ गते राजधानीस्थित माइतीघर मण्डलामा धर्ना दिने, २० गते प्रधानमन्त्री निवास बालुवाटारमा धर्ना दिने र २१ गतेदेखि राजधानी प्रवेश गरेर पूर्व पश्चिमका नाका ठप्प पार्ने घोषणा निर्माण व्यवसायीले गरेका हुन ।
यसपछि पनि माग पुरा नभए राष्ट्रिय गौरवका आयोजनासहित सबै खालका निर्माण कार्य ठप्प पार्ने गरी अर्को चरणको आन्दोलन घोषणा गरिने व्यवसायीले बताएका छन । सरकारले दिनुपर्ने ४५ अर्ब भन्दा बढी बक्यौता तत्काल भुक्तानी हुनुपर्ने व्यवसायीको माग छ । त्यस्तै समेन्ट उद्योगीहरुले कार्टेलिङ गरेर महिनामा २ सय पचास भन्दा बढी मुल्य बढाएको भन्दै तत्काल सिमेन्टको आयात खुलाउन पनि उनीहरुले सरकारको ध्यानाकर्षण गराएका छन ।
बजेट नभएका ६ खर्ब ५० अर्ब भन्दा बढीका ठेक्काहरु सुविस्ताका आधारमा तोड्न समेत माग गरेका छन् । राष्ट्र बैंकले दिइएको सुविधा कटौती लगायतका कारण निर्माण उद्योग संकटमा परेको उनीहरूको दाबी रहेको छ । दुईवर्षदेखि सरकारले भुक्तानीमा आलटाल गर्दा व्यवसायीहरु आर्थिक रुपमा धरासायी बन्दै गएको व्यवसायीको भनाइ छ ।
प्रतिक्रिया