प्रधानमन्त्री दाहाल आज न्यूयोर्कबाट छिमेकी मुलुक चीनको भ्रमणमा जाँदै, राष्ट्रपति सी लगायतसँग द्विपक्षीय भेटवार्ता गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल आज चीन भ्रमणमा जाँदैछन् । चीनका समकक्षी ली क्वानको निमन्त्रणामा उनी आज अमेरिकाको न्यूयोर्कबाट चीनको हाङझाव जान लागेका हुन् । न्युयोर्कबाट स्थानीय समयअनुसार आज राती साढे १ बजेको फ्लाइटमा प्रधानमन्त्री नेतृत्वको टोली हाङझाव प्रस्थान गर्ने उनको सचिवालयले जानकारी दिएको छ । हाङझावमा प्रधानमन्त्री दाहालले चीनका राष्ट्रपति सी जिनपिङसँग भेट्ने कार्यक्रम छ । भोलिदेखि सुरू हुने एसियाली खेलकुदको उद्घाटन समारोहमा सरिक भएपछि प्रधानमन्त्री दाहाल र राष्ट्रपति सीबीच भेटवार्ता हुनेछ । चीनको सात दिने भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले समकक्षी ली क्वान र चीनको नेशनल कंग्रेसका अध्यक्ष रुझाओ लेजीसँग बेइजिङमा द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । बेइजिङस्थित नेपाली राजदूतावासको कार्यालयमा उद्योग वाणिज्य महासंघ र चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद्रुले संयुक्त रूपमा आयोजना गर्ने नेपाल–चीन लगानी सम्मेलनलाई पनि प्रधानमन्त्री दाहालले सम्बोधन गर्नेछन् । त्यसपछि प्रधानमन्त्री दाहालले चोङकिङ नगरपालिकामा कृषि र औद्योगिक  विकासको निरीक्षण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । नेपालसँग सीमा जोडिएको चीनको तिब्बत स्वायत्त क्षेत्र ल्हासाको भ्रमण गरी ३० सेप्टेम्बरमा प्रधानमन्त्री नेतृत्वको टोली स्वदेश फर्कने तालिका छ । 

प्रतिक्रिया