तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने

तराई मधेशका जिल्लामा अझै पाँच दिन तातो हावा चल्ने अनुमान रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विशेष बुलेटिन निकालेर सोमबारदेखि आउँदो १४ गते शुक्रवारसम्म तातो हाला चल्ने जानकारी गराएको हो । तराई मधेशमा बितेको एक हप्तादेखि गर्मी बढिरहेको छ भने दुई दिन अघिदेखि तातो हावा चलिरहेको छ । तातो हावा तराई मधेशसँगै पहाडी भूभागका उपत्यका र खोँचहरूमा समेत बढ्ने महाशाखाले जनाएको छ । महाशाखाका अनुसार केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनमत तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको छ । केही स्थानमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा त्यसभन्दा बढी मापन भएको छ । विभागको तथ्यांकअनुसार सोमबार दिउँसो अधिकतम तापक्रम भैरहवामा ४०.९ र सिमरामा ४० डिग्री सेल्सियस मापन भएको छ । यस्तै जनकपुरमा ३९.४, धनगढीमा ३८.८ र नेपपालगञ्जमा ३८.४ डिग्री सेल्सियस मापन भएको छ । महाशाखाका अनुसार धनुषादेखि कञ्चनपुरसम्म (चितवन र नवलपुरबाहेक) का क्षेत्रमा १४ वैशाखसम्म अध्यधिक गर्मी हुने सम्भावना छ । तातो हावा तथा तातो लहरको सम्भावना रहेकाले त्यस क्षेत्रकाले सतर्कता अपनाउन अनुरोध गरेको छ । 
 

प्रतिक्रिया