सूचना तथा सञ्चार प्रविधि दिवस आज विविध कार्यक्रमका साथ मनाइँदै

काठमाडौं । आज राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस विविध कार्यक्रमका साथ मनाइँदैछ । मुलुकमा सूचना तथा सञ्चार प्रविधिको विकास तथा प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष मे २ तारिखका दिन राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइने गरेको छ । यसै अवसरमा आज सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यमा विशेष समारोह आयोजना गर्ने भएको छ । सोही समारोहमा सूचना तथा सञ्चार प्रविधिको क्षेत्रमा योगदान गरेका व्यक्ति तथा संघसंस्था मध्येबाट सर्वोत्कृष्टलाई पुरस्कार प्रदान गर्ने कार्यक्रम छ । सरकारले कृषि, पर्यटन, ऊर्जासँगै सूचना प्रविधिलाई पनि आर्थिक समृद्धिको प्रमुख आधारका रूपमा स्वीकार गरी यसको विकास एवं प्रवर्द्धनका विविध कार्यक्रम कार्यान्वयन गर्दै आएको छ । दिवसका अबसरमा शुभकामना दिदै प्रधनमन्त्री दाहालले, सरकारले दुरसञ्चार सेवाको आधुनिकीकरण तथा सुदृढिकरण, ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तारको कार्यलाई तीव्रता दिँदै गएको बताएका छन । दुरसञ्चार सेवाको आधुनिकीकरण तथा सुदृढिकरण, ब्रोडब्यान्ड इन्टरनेट सेवा विस्तार तथा सूचना महामार्ग निर्माण र विस्तारको कार्यलाई तीव्रता दिँदै डिजिटल नेपाल फ्रेमवर्कले तय गरेका लक्ष्य पूरा गर्न सरकार लागिपरहेको उनको भनाइ छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी छन् । उनले यसबारे सरकार र सरकारका निकायहरुसँगै निजी क्षेत्रले समेत प्रष्ट धारणा बनाएर अघि बढ्नुपर्ने बताइन् ।
 

प्रतिक्रिया