नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–ट्वान्टी क्रिकेट आज

काठमाडौं । नेपाल र वेस्ट इन्डिज ‘ए’ बिचको चौथो टी–ट्वान्टी क्रिकेट आज हुँदैछ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अपराह्न सवा बा¥ह बजे सुरु हुनेछ । नेपाल आज श्रृखलामा दोस्रो जितको खोजीमा छ । नेपालले आजको खेलमा हिजो विश्वकपका लागि घोषणा गरेको टोली उतार्ने सम्भावना छ । जारी शृङ्खलामा वेस्ट इन्डिज दुई–एकले अगाडि छ । पाँचवटा टी–ट्वान्टी खेलको शृङ्खला खेल्न हाल वेस्ट इन्डिजको ‘ए’ टोली नेपाल भ्रमणमा छ । शृङ्खलाको पहिलो खेलमा नेपाल चार विकेटले विजयी भएको थियो । दोस्रो खेलमा भने वेस्ट इन्डिजले नेपालमाथि दश रनको रोमाञ्चक जित हासिल गरेको थियो । तेस्रो खेलमा पनि वेस्ट इन्डिजले नेपाललाई ७६ रनले हराएको थियो । यसै वर्षको जुनमा आयोजना हुने आईसीसी टी–ट्वान्टी विश्वकपको तयारीका क्रममा नेपाल र वेस्ट इन्डिजबिच यो मैत्रीपूर्ण अभ्यास खेल खेलिएको हो । आईसीसी टी–ट्वान्टी विश्वकप जुन एकदेखि उनान्तिस तारिखसम्म अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रूपमा आयोजना हुँदैछ । वेस्ट इन्डिजको कुनै पनि टोली नेपाल भ्रमणमा आएको यो पहिलो पटक हो । यसअघि नेपाल र वेस्ट इन्डिजबिच एकपटक मात्र अन्तर्राष्ट्रिय क्रिकेट खेलिएको छ । सन् २०२३ मा जिम्बाबेमा सम्पन्न आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिताका क्रममा नेपाल र वेस्ट इन्डिजबिच खेल भएको थियो । त्यो खेलमा क्यारेबियन टोली एक सय एक रनले विजयी भएको थियो ।
 

प्रतिक्रिया