प्यालेष्टिनीको पक्षमा अमेरिकी विश्वविद्यालयमा प्रदर्शन चर्कदै

काठमाडौं । गाजा युद्धको विरोध र प्यालेष्टिनीको पक्षमा अमेरिकाका विश्वविद्यालयमा प्रदर्शन चर्केको छ । लस एन्जलसको युनिभर्सिटी अफ क्यालिफोर्नियामा प्यालेष्टिनी र इजरायली पक्षधर प्रदर्शनकारीबीच गएराति झडप भएको छ । क्याम्पस हाताभित्र प्यालेष्टिन पक्षधर विद्यार्थीले खडा गरेका अस्थायी शिविरमा हिंसात्मक घटना भएको र लगत्तै प्रहरीले हस्तक्षेप गरेको हो । न्यूयोर्कको कोलम्बिया विश्वविद्यालयको एउटा शैक्षिक भवन कब्जा गरेर बसेका प्रदर्शनकारीलाई करिब २४ घण्टापछि प्रहरीले गिरफ्तार गरेको छ । न्यूयोर्क पुलिस डिपार्टमेन्टका अधिकारीहरू झ्यालमार्फत सिँढीको प्रयोग गर्दै प्रदर्शनकारीले कब्जामा लिएका हुन । प्रहरीले करिब एक सय जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ । कोलम्बिया यूनिभर्सिटी इजरायलविरोधी प्रदर्शनको मुख्य केन्द्रविन्दूका रूपमा रहँदै आएको थियो । कोलम्बिया यूनिभर्सिटीका विद्यार्थीले  यही अप्रिल १८ देखि क्याम्पस हाताभित्रै अस्थायी शिविर खडा गरेर प्रदर्शन सुरु गरेका थिए । यो प्रदर्शनको लहर कम्तीमा २१ राज्यका २५ भन्दा बढी विश्वविद्यालयमा फैलिएको छ । कोलम्बिया युनिभर्सिटीले कतिपय विद्यार्थीलाई निलम्बन गरेको छ भने प्रहरीले अहिलेसम्म विभिन्न विश्विद्यालयबाट एक हजारभन्दा बढीलाई गिरफ्तार गरेको छ । प्रदर्शनकारीहरूले गाजामा युद्धबिराम गरिनु पर्ने र विश्वविद्यालयहरुले इजरायलसँग सम्बन्ध रहेका कम्पनीहरुमा गरेको लगानी फिर्ता लिनु पर्ने माग राख्दै आएका छन् । अमेरिकी विश्वविद्यालयमा दैनिक रुपमा प्रदर्शन बढ्न थालेपछि प्रहरीले विद्यार्थीलाई धमाधम पक्राउ गर्न थालेको छ । विश्वविद्यालयले पनि क्याम्पसलाई प्रदर्शनस्थल बनाएर विरोध सभा गर्ने विद्यार्थीलाई निकाल्न थालेको छ । प्रदर्शनका सहभागी विद्यार्थीहरुले अमेरिकी राष्ट्रपति जो बाइडेन र विश्वविद्यालय प्रशासनप्रति असन्तुष्टि व्यक्त गर्दै इजरायलले प्यालेस्टिनीमाथी गरिरहेको नरसंहारलाई राष्ट्रपति बाइडेनले प्रोत्साहन स्वरुप हतियार दिने गरेको आरोपसमेत लगाएका छन् ।

प्रतिक्रिया