देशभर वन डढेलो र आगलागीको विकराल अवस्था

काठमाडौं । देशभर वन डढेलो र आगलागीको अवस्था विकराल बनेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिले ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागेको छ । बुधबारसम्म एक महिनामा ७४ जिल्लामा १ हजार ४ सय ११ वटा आगलागी का घटना भएका छन् । सबैभन्दा बढि लुम्बिनीमा ३ सय ९९, कोशीमा ३ सय २६ र मधेश प्रदेशमा  सय ८१ स्थानमा आगलागी भएको छ । बागमतीमा १ सय ३८, कर्णालीमा १०४, गण्डकीमा ९३ र सुदुरपश्चिम प्रदेशमा ७० स्थानमा आगलागी भएको छ । यस अवधिमा आगलागीमा परेर २५ जनाको मृत्यु भएको छ भने ९० घाइते भएका छन् । ६ सय ८३ वटा घरगोठ र ९ सय ६४ पशुचौपाया जलेर नष्ट भएका छन भने आगलागीबाट देशभर ५२ करोड ८३ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ । वर्षा नभएमा अझै पनि वन डढेलो बढ्दै जाने भन्दै सरोकारवालाहरुले चिन्ता व्यक्त गरेका छन् । जल तथा मौसम पूर्वानुमान महाशाखाले भने तत्कालका लागि डढेलो नियन्त्रण हुने किसिमको वर्षा नहुने बताएको छ । डढेलोबाट सल्यान, सुर्खेत, कैलाली, दैलेख, डोटीलगायतका जिल्ला प्रभावित भएका छन् । नेपालमा साधारणतया वर्षमा दुइ हजार पाँच सयको हाराहारीमा डढेलोको घटना हुने गरेका छन । 

प्रतिक्रिया