सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दावी गर्ने आज अन्तिम दिन

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा आज सत्ता गठबन्धनले मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारी गरेका छन । प्रदेश प्रमुख नजिर मियाँले संविधानको धारा १ सय ६८ को दुई अनुसार मुख्यमन्त्रीमा दाबी पेश गर्न दिएको समय आज साँझ ५ बजे सकिन लागेकाले त्यसअघि नै दाबी पेश गर्ने तयारी सत्ता गठबन्धनको छ । सुदूरपश्चिमको मुख्यमन्त्रीमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गर्ने तयारी गरेका छन । त्यसका लागि एकीकृत समाजवादी छलफलमा जुटेको छ । नेकपा एमालेले सोडारीलाई मुख्यमन्त्रीमा समर्थन गर्न नचाहेका कारण अन्यौल भएको छ । एकीकृत समाजवादीबाट मुख्यमन्त्री बन्दा आपत्ति नहुने तर पात्र परिवर्तन गर्नुपर्ने एमालेले सर्त राखेको छ । एमालेले सोडारीको सट्टामा यसअघि आर्थिक मामिला मन्त्री बनेका नरेश शाही, प्रकाश रावल, माया पन्तमध्ये जसलाई बनाए पनि समर्थन गर्ने एमाले भनाइ छ । २०७७ सालमा सुदूरपश्चिमको सामाजिक विकास मन्त्री रहेका बेला सोडारी कारबाहीमा परेका थिए । आइतबार नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरी र लक्ष्मणकिशोर चौधरीले मुख्यमन्त्रीमा छुट्टाछुट्टै दाबी पेश गरेका थिए । तर प्रदेश प्रमुख मियाँले दुवै दाबी खारेज गर्दै दुई दिनको समय दिएर पुनः मुख्यमन्त्रीमा दाबी प्रस्तुत गर्न भनेका हुन । 
 

प्रतिक्रिया