मुसलधारे वर्षाका कारण युएई र ओमानमा २० जनाको मृत्यु

ब्यस्त मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल अस्तव्यस्त

संयुक्त अरब इमिरेट्स–युएई र ओमानमा भएको मुसलधारे वर्षाका कारण २० जनाको मृत्यु भएको छ । ओमानमा लगातार तीन दिनसम्म परेको पानीका कारण स्कुले विद्यार्थीसहित १९ जनाको मृत्यु भएको हो । त्यहाँ १४ सय मानिसलाई सुरक्षित स्थानमा सारिएको छ भने विद्यालय र सरकारी कार्यालय बन्द गरिएका छन् । यस्तै युएईमा एक जनाको मृत्यु भएको छ । राष्ट्रिय मौसम केन्द्रका अनुसार यएईको अल–इन शहरमा मंगलवार झण्डै २४ घण्टाको अवधिमा २ सय ५४ मिलिमिटर वर्षा भएको छ । वर्षभरि पर्ने पानी एकै दिन परेको बताइएको छ । मंगलवार अबेरदेखि नै पानी पर्न कम भए पनि बुधवारसम्मै दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित बनेका छन् । विश्वको दोस्रो व्यस्त विमानस्थल दुबईमा उडानहरु अवरुद्ध छन् । धेरै उडान ढिलाइ, रद्द वा डाइभर्ट भएका छन् । यात्रुहरु समस्यामा परेका छन् । हिजो दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा झण्डै २ सय ९० उडान रद्द भएका थिए । त्यस्तै चार सय ४० भन्दा धेरै उडान ढिला भएका थिए । दुबईमा मुख्यालय रहेको प्रमुख अन्तर्राष्ट्रिय एयरलाइन्स इमिरेट्सले आजसम्म यात्रुहरुका लागि चेक–इन स्थगित गरेको जनाएको छ । सकेसम्म छिट्टै उडान सञ्चालन गर्ने प्रयास भैरहेको एयरलाइन्सका अधिकारीले जनाएका छन् । वर्षाका कारण दुबईका विमानस्थलदेखि सडक, घर र मल जताततै पानी भरिएका छन् । जलवायू विज्ञ फ्रेडरिक ओटोले मानवसिर्जित जलवायू परिवर्तनका कारण यति खराब वर्षा भएको बताएका छन् । मौसम विज्ञहरुले गल्फ अफ ओमान र अरेबियन प्रायद्विप हुँदै अघि बढिरहेको एउटा ठूलो आँधीय पद्धतिका कारण यति धेरै वर्षा भएको हुनसक्ने अनुमान गरेका छन् । तर केही विज्ञले भने क्लाउड सिडिङ्ग अर्थात् कृत्रिम वर्षा प्रयासमा भएको गडबडीका कारण दुबईमा यति धेरै पानी परेको हुन सक्ने बताएका छन् । 

प्रतिक्रिया