सुदुरपश्चिम प्रदेशमा नेता सोडारीलाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका दल सहमत

काठमाडौं । सुदुरपश्चिम प्रदेशमा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्री बनाउन सत्ता गठबन्धनका दलहरु सहमत भएका छन् । प्रदेश प्रमुख नाजिर मियाँले मुख्यमन्त्रीका लागि यसअघि परेका दुवै दाबी अस्वीकृत गर्दै भोलिसम्मको समय दिएर फेरि दाबी पेस गर्न दलहरूलाई आह्वान गरेका छन  । मुख्यमन्त्रीले दुवै दाबी अस्वीकृत गरेपछि सत्तारुढ गठबन्धनको सहमतिअनुसार एकीकृत समाजवादीका सोडारीले अर्को दाबी पेश गर्ने तयारी भएको छ । अहिले एकीकृत समाजवादीको नेतृत्वमा सरकार बनाउने, त्यसपछि नागरिक उन्मुक्तिको नेतृत्वमा सरकार बनाउने प्रस्तावमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ पनि सकारात्मक देखिएकी छिन । योसँगै सुदूरपश्चिम प्रदेश सरकारमा मुख्यमन्त्रीको दाबी र समर्थनलाई लिएर केन्द्रीय सत्ता समीकरणसम्मै देखा परेको संकट तत्कालका लागि टरेको छ । यसअघि सुदूरपश्चिमको मुख्यमन्त्रीमा आइतवार नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीले नेपाली कांग्रेस र एकीकृत समाजवादीको समर्थनमा तथा नागरिक उन्मुक्तिकै रञ्जिता श्रेष्ठ पक्षका कैलाश चौधरीले माओवादी र एमालेको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए ।

प्रतिक्रिया