गण्डकी प्रदेशका मुख्यमन्त्री अधिकारी र प्रधानमन्त्री दाहालबिच भेटवार्ता

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज भेट गरेका छन । मुख्यमन्त्री अधिकारीले आज बिहान प्रधानमन्त्री दाहालसँग बालुवाटारमा भेटवार्ता गरेका हुन् । भेटमा गण्डकीको सत्ताको निकासबारे परामर्श गरेको बुझिएको छ । यसअघि मुख्यमन्त्री अधिकारीले प्रदेश प्रमुख डिल्लीराज भट्टलाई विशेष अधिवेशन डाक्न सिफारिस गरेका थिए । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले बैशाख ७ गते विशेष अधिवेशन डाक्न प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । आफूविरुद्धको मुद्दामा सर्वोच्च अदालतमा सुनुवाइ हुनुअघि नै विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री अधिकारी छन् । सभामुखलाई समेत गणना गरेर मुख्यमन्त्रीमा दाबी गरेको र सोही दाबीका आधारमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै नेपाली कांग्रेस २७ चैतमा सर्वोच्च पुगेको थियो । सर्वोच्चले दीर्घकालीन असर पर्ने निर्णयहरू नगर्न अन्तरिम आदेश दिएको थियो । ६० सदस्यीय गण्डकी प्रदेश सभामा बहुमतका लागि ३१ सांसद चाहिन्छ । सत्ता गठबन्धनमा नेकपा एमालेका २२, माओवादी केन्द्रका सभामुखसहित ८ र स्वतन्त्र एक जना छन् भने, अर्कातर्फ नेपाली कांग्रेसका २७ र राप्रपाका २ सांसद छन् ।

प्रतिक्रिया