‘ऐतिहासिक तथा पुरातात्विक क्षेत्रको संरक्षण जरुरी’

हेटौँडा ।  बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले पर्यटकीय हिसाबले महत्व बोकेको ऐतिहासिकस्थललाई प्रवर्द्धन एंव संरक्षण गर्नुपर्नेमा जोड दिएका छन् । मकवानपुरगढी गाउँपालिका–२ मा आयोजित ऐतिहासिक मकवानपुरगढीको २६२औँ विजय उत्सव समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री लामाले इतिहासको संरक्षण गर्न सके मात्रै यसको महत्व बढ्दै जाने बताए ।

मकवानपुरगढी नेपाल एकीकरणको कोशेढुङ्गा भएको उल्लेख गर्दै उनले पृथ्वीनारायण शाहले रचेको इतिहासबाट हामी नेपालीहरु एउटै मालामा गाँसिएकाले मकवानपुरगढी दरबार र यसको महत्वलाई स्थानीय, प्रदेश तथा सङ्घीय सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए ।मुख्यमन्त्री लामाले मुलुक सङ्घीयतामा प्रवेश गरेसँगै ऐतिहासिक मकवानपुरगढीको समृद्धिका लागि नीति निर्माण तहबाट ऐतिहासिक तथा पुरातात्विक महत्वका क्षेत्रहरु, धार्मिक तथा पर्यटकीय गन्तव्यको रुपमा विकास गर्न प्रदेश सरकार लागिपरेको बताए ।

विरताको इतिहास रहेको ऐतिहासिक मकवानपुरगढीमा सेनवंशीय राजाहरुको वंशावलीको चित्रणसँगै गोर्खाली सेनाले विदेशी फौजलाई पराजित गरेको ऐतिहासिक किल्ला भएकाले मकवानपुरगढीको संरक्षण तथा संवर्द्धन गर्नुपर्नेमा जोड दिए । उनले मुलुकको ऐतिहासिक धरोहरको रुपमा रहेको मकवानपुरगढी नेपालको एकीकरण अभियानको जड रहेको बताए ।

मुख्यमन्त्री लामाले मकवानपुरगढी नेपाली सेनाको गौरवपूर्ण इतिहाससँग गाँसिएकाले यस स्थानको ऐतिहासिक र पुरातात्विक विषयलाई समेटर संरक्षण गर्दै अगाडि बढ्न सके पर्यापर्यटन विकासमा टेवा पुग्ने बताए ।  गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङ्तानको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, गाउँपालिकाका उपाध्यक्ष मानकुमारी पाख्रीनलगायत जनप्रतिनिधिको उपस्थिति रहेको थियो ।
 

प्रतिक्रिया