लगानी भित्राउन कानुनी जटिलता रहेको प्रधानमन्त्री सहित शीर्ष नेताको स्वीकारोक्ति

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार र निजी क्षेत्रबाट हुने लगानीलाई वृद्धि गर्नुका साथै लगानीलाई उचित ढंगले प्राथमिकीकरण गर्नुपर्ने आवश्यकता रहेको बताएका छन ।  नेपाल उद्योग वाणिज्य महासङ्घको ५८ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले लगानी सम्मेलनलाई प्रभावकारी र परिणाममुखी बनाउन सरकार ठोस गृहकार्य र तयारीसहित अगाडि बढेको जिकिर गरेका हुन । प्रधानमन्त्री दाहालले देशमा लगानीको वातावरण निर्माण गरी लगानी भित्र्याउन नीति, कानून, सोच, संरचना र कार्यशैलीमा धेरै चुनौती र सीमाहरू रहेको स्वीकार गरे । राष्ट्रिय आकाङ्क्षा र आवश्यकताअनुरूप अर्थतन्त्रले अपेक्षित प्रगति लिन नसकेको उनको भनाइ थियो । कार्यक्रममा पूर्वप्रधानमन्त्री झलनाथ खनालले देश औद्योगिकरण हुन नसक्नुको कारण पहिचान गरी देशलाई आधुनिक र औद्यागिक मुलुकमा रुपान्तरण गर्न आवश्यक रहेको बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले निजी क्षेत्रमैत्री ऐन, कानून नबनेसम्म देश बन्न नसक्ने बताए । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले पछिल्लो दुई वर्षमा निजी क्षेत्रले काम गर्न नपाउँदा न्युन आर्थिक वृद्धि भएको बताए । देशको अर्थतन्त्र कमजोर हुनुमा बाह्य नभइ आन्तरिक कारण नै प्रमुख रहेको उनको भनाइ थियो । 
 

प्रतिक्रिया