केही दिन देशभर बर्षा हुने सम्भावना

पश्चिमी वायु, स्थानीय वायुका साथै भारतको विहार आसपास बनेको न्यून चापीय प्रणालीको कारण केही दिन देशभर बर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । प्रि मनसुनका कारण आज कोशी, मधेस वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका बाँकी पहाडी भागका केही स्थानमा मेघगर्जन एवं चट्याङसहित हल्का वर्षाको सम्भावना छ । साथै तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । शनिवारपछि पश्चिमी वायुको प्रभाव अझ बढ्ने पूर्वानुमान गरिएकाले आगामी साता पनि वर्षाको सम्भावना उच्च रहेको विभागको भनाइ छ । देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै विभागले त्यस क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने चेतावनी दिएको छ । पानी परेको र डढेलो पनि निभेका कारण वायुको गुणस्तर भने सुधार भएको छ । वातावरण विभाग अन्तर्गतका सबैजसो वायु गुणस्तर मापन केन्द्रहरुले वायु गुणस्तर मापन सूचक एक्यूआई एकसय भन्दा तल झरेको देखाएका छन् । यसअघि सबैजसो केन्द्रमा एक्यूआइ एक सय ५० भन्दा माथि थियो । यस्तै बादल र वर्षासँगै गर्मी पनि घटेको छ । लामो खडेरीले आजित भएका किसानलाई पानी परेपछि राहत मिलेको छ ।। 

प्रतिक्रिया