भजन शिरोमणी आचार्यको आज पशुपतिमा अन्त्येष्टी

श्रद्धाञ्जलीका लागि शव अपरान्हसम्म प्रज्ञा प्रतिष्ठानमा राखिने

गायक तथा संगीतकार स्वर्गीय भक्तराज आचार्यको आज अन्त्येष्टि गरिदैछ । आज अपरान्ह पशुपतिस्थित आर्यघाटमा उनको अन्तिम संस्कार गरिने परिवारले जनाएको छ । अहिले उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा राखिएको छ । सो क्रममा श्रद्धाञ्जलीका क्रममा स्व.आचार्यको सम्मानमा संगीतकर्मीले आचार्यको सम्मानमा गीत गाएका छन । दिउँसो एक बजेपछि अन्तिम श्रद्धाञ्जलीका लागि आचार्यको पार्थिव शरीरलाई नेपाल प्रज्ञा प्रतिष्ठानमा लगिनेछ । ८१ वर्षको उमेरमा सोमबार उनको निधन भएको थियो । आचार्यको निधनप्रति सङ्गीतकर्मी, सर्वसाधारण तथा राजनीतिक दलका नेतालगायतले श्रद्धाञ्जली व्यक्त गरेका छन । आचार्य लामो समयदेखि बिरामी थिए । झण्डै तीन दशक आचार्य बोल्न नसक्ने भएर बाचेका थिए । उनी १९९९ साल असोज १६ मा धनकुटामा जन्मेका हुन । जम्मा १६ वर्ष मात्रै साङ्गीतिक जीवनमा सक्रिय भक्तराज आचार्यका झण्डै साढे चार सय गीत रेकर्ड भएका छन् । आचार्यले मुटु जलिरहेछ, जति चोट दिन्छौ, जहाँ छन् बुद्धका आँखा, हजार सपनाहरूको, माया मेरी साँझ बिहान, हजार आँखा हेर्नेलगायतका गीत सर्वाधिक लोकप्रिय छ । ‘भजन शिरोमणि’ उपाधि पाएका उनका भजनदेखि आधुनिक, गजल, राष्ट्रिय, बालगीतलगायत छन् । २०४६ साल मङ्सिरमा बौद्धको एक रेष्टुरेन्ट नजिक उनी आक्रमणमा परेपछि विरामी परेका थिए । आचार्यको श्रीमती, दुई छोरा–बुहारी र दुई नाति छन् । दुई छोरा सत्यराज र स्वरूपराज पनि साङ्गीतिक क्षेत्रमै क्रियाशील छन । 

प्रतिक्रिया