विपिन जोशीको परिवारले भेटे प्रधानमन्त्री दाहाललाई

प्रधानमन्त्री पुष्पकमल दाहालसँग हमासको कब्जामा रहेका विपिन जोशीको परिवारले भेट गरेको छ । आज बिहान प्रधानमन्त्री निवास बालुवाटारमा जोशीका बुवा आमासहित परिवारले भेट गरेको हो । भेटमा जोशीको परिवारले विपिनको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरिदिन प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको छ । प्रधानमन्त्रीले आफू विपिनको रिहाइका लागि चिन्तित रहेको र रिहाइका लागि निरन्तर पहल गरिरहेको बताउँदै छिटै सकारात्मक परिणाम आउनेमा आशावादी रहेको प्रतिक्रिया दिएका छन । यसअघि जोशीको परिवारले रिहाइका लागि विश्व समुदाय समक्ष अपिल गरेको छ ।विपिनका बुबा आनन्द, आमा पद्मा र बहिनी पुष्पा जोशीले हिजो नेपालका लागि इजरायली राजदूत खनान गोडेरलाई भेटेर सकुशल रिहाइको लागि अपिल गरेका हुन । हमासको नियन्त्रणमा रहेको करिब ७ महिनासम्म विपिनको अवस्था थाहा नहुँदा आफूहरू इन्तु न चिन्तु भएको परिवारका सदस्यको गुनासो छ । अन्तर्राष्ट्रिय रेडक्रस, इजरायल र अन्तर्राष्ट्रिय समुदायले कूटनीतिक पहल गरेर विपिनलाई सुरक्षित घर फर्काइदिन परिवारको अपिल छ । सुदूरपश्चिम विश्वविद्यालयको कृषि विज्ञान संकायमा अध्ययनरत विपिन सहितका ४९ नेपाली विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत गत भदौ २७ गते इजरायल पुगेका थिए। तर, इजरायल–प्यालेस्टाइन युद्धका क्रममा गत असोज २० गते हमासले गरेको हमलामा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने विपिन लगायत थुप्रैलाई नियन्त्रणमा लिइएको थियो ।। 

प्रतिक्रिया