जीतपुर सिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि नेपाल पुलिसलाई

काठमाडौं । नेपाल पुलिस क्लबले १४ औं जीतपुरसिमरा गोल्डकप फुटबल प्रतियोगिताको उपाधि जितेको छ । सिमरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धात्मक फाइनल खेलमा मच्छिन्द्र क्लबलाई टाइब्रेकरमा ४–३ ले हराउँदै पुलिसले वर्षको पहिलो उपाधि जितेको छ । निर्धारित ९० मिनेट र थप समय गोलरहित बराबरीमा टुंगिएपछि टाइब्रेकरमा पुलिसले बाजी मारेको थियो । परिवर्तित गोलकिपर अमित टमाटाले दुई पेनाल्टी रोकेपछि पुलिस जीतपुरसिमरा गोल्डकपको च्याम्पियन बनेको थियो । अमित घिमिरले मच्छिन्द्रका सौरभ लिम्बु र चन्दन दासको प्रहारलाई रोकेका थिए । मच्छिन्द्रका विशाल तामाङ, दिवाकर चौधरी, सनिस श्रेष्ठले गोल गरे । पुलिसका लागि कप्तान रामचन्द्र वाजे, पुजन राई, सुजन मगर, आशिष राईले गोल गरेका थिए । आठ वर्षपछि फाइनल पुगेको पुलिस विजेता बन्न सफल भएको हो । छैटौं संस्करणको फाइनलमा पुलिस आर्मीसँग पराजित भएको थियो । मच्छिन्द्र निर्धारित समयको अन्त्यतिर ९ खेलाडीमा सिमित भएको थियो । उत्सव राईले ८४ औं मिनेटमा सिधै रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिनु परेको थियो । ८८ औं मिनेटमा मनिष डाँगीले ८८ औं मिनेटमा दोहोरो पहेलो कार्डको सामना गर्दै मैदान छाड्नु परेको थियो ।

प्रतिक्रिया