शहीद सप्ताह शुरु : शुक्रराज शास्त्री प्रति श्रद्धाञ्जली
काठमाडौं । मुलुकमा प्रजातन्त्र स्थापनाका लागि आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरुको सम्झनामा आज (बिहीबार) देखि शहीद सप्ताह शुरु भएको छ ।
काठमाडौं महानगरपालिकाको समन्वयमा प्रत्येक वर्ष माघ १० देखि १६ गते सम्म अमर शहीदलाई स्मरण गरी शहीद सप्ताह मनाउने गरिन्छ ।
शहीद सप्ताहको पहिलो दिन आज शुक्रराज शास्त्रीलाई प्राणदण्ड दिइएको टेकु स्थित उनको सालिकमा काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोल लगायत महानगरपालिकाका पदाधिकारी एवं स्थानीयले माल्यार्पणका साथ श्रद्धाञ्जली अर्पण गरे ।
विसं १९५० मा वनारसमा जन्मिएका शुक्रराज शास्त्री धार्मिक गतिविधि मार्फत जहानियाँ शासन विरुद्ध जागरण अभियानमा सक्रिय थिए । उनलाई काठमाडौंको इन्द्रचोक बाट पक्राउ गरी जेलमा राखिएको थियो । राणा सरकारले उनलाई १९९७ माघ १० गते टेकु पचली स्थित खरीबोटमा झुण्ड्याएर मृत्युदण्ड दिएको थियो ।
शास्त्रीको श्रद्धाञ्जलीसभा भएको उक्त स्थानलाई २०३५ मा तत्कालीन काठमाडौं नगर पञ्चायतले शिलालेख राखी संरक्षण गरेको हो ।
रासस
प्रतिक्रिया