मेक्सिकोको सिमानामा १५ सय सैनिक खटाउन राष्ट्रपति ट्रम्पको आदेश
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सिमानामा १५ सय सैनिक खटाउन आदेश दिएका छन् ।
सीमामा हजार स्थल सैनिक र ५ सय जल सैनिक परिचालन गरिने ट्रम्पले जानकारी दिएका हुन् । मुलुकको दक्षिणी सिमाना बाट भइरहेको अवैध आप्रवासीको ओसारपसार तथा तस्करी रोक्न स्थल सेना खटाउने निर्णय गरिएको ट्रम्प प्रशासनको भनाइ छ ।
अनतर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार सेनाहरु मेक्सिकोको सीमामा मानव पर्खालको रुपमा उभिए पनि कानून कार्यान्वयनको तहमा कारवाहीमा भने उत्रिने छैनन् । सेनाहरुलाई आवश्यक सहयोग गर्न लडाकु विमानहरु पनि तयारी अवस्थामा राखिने बताइएको छ ।
मेक्सिकोको सिमानामा अहिले पनि झण्डै २२ सय सैनिक तैनाथ छन् । राष्ट्रपति ट्रम्पले तत्कालका लागि अमेरिकामा सबै शरणार्थीहरूको यात्रा निलम्बन समेत गरेका छन् । विदेश मन्त्रालयले शरणार्थीहरूको पूर्व निर्धारित सबै यात्रा रद्द गरिएको र नयाँ यात्राको बुकिंङ पनि नगरिने उल्लेख गरेको छ ।
यसले करिब १० हजार शरणार्थीको अमेरिकाको पूर्व निर्धारित यात्रा रद्द भएको जनाइएको छ । यात्रा रद्द हुनेमा अफगानिस्तान, कंगो, भेनेजुएला, सिरिया र म्यानमार लगायतका देशका शरणार्थी रहेको समाचारमा उल्लेख छ् ।
प्रतिक्रिया