रवि लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ ।
बुधबार भएको थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो । न्यायाधीश अधिकारीको आदेशपछि सभापति लामिछानेले अब हिरासत बाहिर बसेर मुद्दाको पुर्पक्ष गर्न पाउने भएका छन् ।
स्वर्णलक्ष्मी सहकारीमा भएको रकम अपचलन सम्बन्धी मुद्दामा जिल्ला प्रहरी परिसर, काठमाडौंले पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएको छ । सोही मुद्दालाई सघाउन गत आइतबार सभापति लामिछाने आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका थिए ।
स्वर्णलक्ष्मी सहकारीबाट ६ सय ९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४ सय ९३ रुपैयाँ हिनामिना गरिएको आरोप छ । रविसहितका प्रतिवादीविरुद्ध कास्की, काठमाडौं, रुपन्देहीसहित चितवन र पर्सा प्रहरीले सहकारी ठगी मुद्दा अगाडि बढाएको छ ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा लामिछानेलाई जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले गत बिहीबार ६५ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो । आदेशपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने कास्की प्रहरीकोे हिरासतबाट ८४ दिनपछि रिहा भएका हुन् ।
प्रतिक्रिया