नारायणगढ–मुग्लिन सडक खण्ड नखुल्दा हजारौँ यात्रु राजमार्गमै अलपत्र

सुक्खा पहिरोका कारण बिहीवार दिउँसैदेखि बन्द रहेको नारायणगढ–मुग्लिन सडक खण्ड अझै खुल्न सकेको छैन । इच्छाकामना गाउँपालिका–पाँच को तीन नम्बर पुलमा सुक्खा पहिरो खसेर सडक बन्द भएको हो । दिउँसो केहीबेर पहिरो पञ्छाउने काम भएपनि पहिरो खस्ने क्रम नरोकिएपछि सडक बन्द नै रहेको ट्राफिक प्रहरीले जनाएको छ । अहिले पनि पहिरो खसेको खस्यै गर्दा पञ्छाउन समस्या परेको छ । पहिरो रोकिएपछि पनि पञ्छाउन लामो समय लाग्ने भएकाले सकभर मुग्लिन नारायणगढ सडक भएर यात्रा नगर्न ट्राफिक प्रहरीले आग्रह गरेको छ । विहीबार दिउँसो एक बजेदेखि बन्द भएको सडक अहिलेसम्म पनि नखुल्दा हजारौँ यात्रु विचल्लीमा परेका छन् । काठमाण्डौबाट छुट्ने गाडी काठमाण्डौमै रोकिएका छन् भने पूर्व र पश्चिमबाट काठमाण्डौतर्फ आउने गाडी नारायणगढ आसपासमै रोकिएका जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । मुग्लिनबाट करिब दुई किलोमिटर पर नारायणगढतर्फ पर्ने तीन नम्बर पुलनेर पहिरो खसेको हो । बर्खा लागेसँगै नारायणगढ–मुग्लिन सडक खण्डमा पटक–पटक पहिरो जाने र बाटो बन्द हुँदा यात्रुहरुले सास्ती व्यहोर्दै आएका छन् ।

 

प्रतिक्रिया