लेखा समिति सभापतिको कदमप्रति सांसद सापकोटाका आपत्ति, कारबाही हुनुपर्ने माग

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले संघीय संसद 

प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको सभापति प्रतिपक्षले पाउनुपर्ने बताएका छन्।सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सो माग गरेका हुन्।

सांसद सापकोटाले सो समितिका सभापति ऋषिकेश पोखरेलले अनुचित ढंगले डेडिकेटेड तथा ट्रंक लाईन बक्यौता रकम नतिरेका व्यापारीहरूसँग रहस्यमय ढंगले भेट गरेको जिकिर गर्दै सो घटनाका लागि छानविनका लागि सरकारलाई रुलिङ गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराए।

सभापति पोखरेलले अघिल्लो सार्वजनिक लेखा समितिले सो बक्यौता रकम असुली गर्नका लागि दिएको निर्देशन विपरीत लागेकाले उनीमाथि कारबाही हुनुपर्नै उनको भनाई थियो।

उनले भने, ‘सरकार नेपाल विद्युत प्राधिकरणको बोर्ड सदस्यको बर्खास्तीसम्म पुग्दा कपिल आचार्य र भक्तबहादुर पुन दुई जनालाई नियम उलंघन गरेर सरकारले बर्खास्ती गरेको छ। म यो घटनाको जोडदार ढंगले खण्डन गर्न चाहन्छु। भत्सर्ना गर्न चाहन्छु  र सरकार यो देशमा अटाक्रेसी चलाउन खोजिराखेको छ भन्ने आशंका व्यक्त गर्न चाहन्छु। अघिल्लो संसदको सार्वजनिक लेखा समितिले एउटा उपसमिति गठन गरेर डेडिकेटेड फिडर र ट्रंकलाइनका बारेमा छानबिन गर्ने समिति बनाएको थियो। यसले ८ महिना लगाएर एउटा प्रतिवेदन समितिलाई दिएको थियो। यो प्रतिवेदन हामीले सहजै हेर्न सक्छौं। सार्वजनिक लेखा समितिको सभापति तत्काल प्रतिपक्षलाई दिइयोस्। र, अहिलेको सार्वजनिक लेखा समितिका सभापति जे रहस्यमय घटनाक्रम अगाडि बनाइराख्नुभएको छ। यसका लागि म सम्माननीय सभामुखमार्फत रुलिङ चाहन्छु र यसको लागि सिंगो संसदको ध्यानाकर्षण गराउन चाहन्छु।’ 

सांसद सापकोटाले नेपाल विद्युत प्राधिकरणका बोर्ड सदस्यद्वय भक्तबहादुर पुन र कपिल आचार्यलाई बर्खास्त गर्ने सरकारको निर्णयप्रति पनि आपत्ति जनाए।

प्रतिक्रिया