राजनीतिकर्मीको कृषिमोह : तीन सय रोपनीमा किबी र लोठसल्लाखेती

झापा । कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किबी र लोठसल्ला (टेक्सस मेरिइ) को खेतीमा रमाएका छन् ।  सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा उनीहरूले किबी र लोठसल्लाको खेती गरिरहेका हुन् । तीन सय रोपनीमध्ये एक सय ५० रोपनीमा किबी र एक सय ५० रोपनीमा लोठसल्ला लगाइएको छ ।

कृषि क्षेत्रमा भविष्य देखेपछि सिपी कडरिया, तेजमणि प्रसाईँ, कमलप्रसाद कडरिया, दुष्यन्त भट्टराई, श्रीप्रसाद सिटौला, ईश्वरीप्रसाद तिवारी र झलकबहादुर राईले इलामको सन्दकपुरमा किबी र लोठसल्लाखेती गर्ने योजना बनाएका हुन् । बेरोजगारी घटाउन, राजनीतिकर्मीलाई उत्पादनसँग जोड्न र मुलुकमा प्रविधि भित्र्याउने उद्देश्यले कृषिकर्ममा लागेको कम्पनीका अध्यक्ष सिपी कडरिया बताउछन् । राजनीतिकर्मी कडरिया भन्छन्, “राजनीतिकर्मी उत्पादनसँग जोडिन जरुरी छ, नत्र भ्रष्टाचार अझै मौलाउँछ ।”

कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो २४ प्रतिशत हिस्सा कृषिको छ । सरकारले पनि दिगो विकासको लक्ष्य हासिल गर्न कृषिलाई मुख्य आधार मानेको उनी बताउछन् ।  पत्रकारसँगको कुराकानीमा उनी भन्छन्, “हामी कृषिप्रधान मुलुक भन्छौँ, तर जुनसुकै कुरामा पनि आयातमुखी बनेका छौँ ।”  आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन पनि कृषि क्षत्रेमा लगानी गरिएको उनी बताउछन् ।  विसं २०७२ मा सुरु गरिएको किबी र लोठसल्लामा हालसम्म  तीन करोड ५० लाख रुपैयाँ  लगानी भइसकेको छ । किबी फलफूलका रूपमा प्रयोग हुने र लोठसल्ला क्यान्सर रोगको उपचारका लागि औषधि बनाउन प्रयोग हुने भएकाले बजार र माग राम्रो भएको उनी बताउछन् । 

“गत वर्षदेखि किबी उत्पादन सुरु भएको छ, यो वर्षदेखि हामी लगानी बन्द गर्छौँ”, उनले भने, “अर्को वर्षदेखि नाफा हुने अपेक्षा छ ।” एउटा किबीको बोटले तीन वर्षपछि उत्पादन दिने उनको भनाइ छ । एउटा बोटबाट  ३५ देखि ५० वर्षसम्म उत्पादन लिन सकिन्छ भने वार्षिक ५० केजी उत्पादन हुने कडरियाले बताउछन् । 

गत वर्ष साविक मेची अञ्चलमा मात्र सात लाख केजी किबी उत्पादन भएको कडरिया बताउछन् । “इलाममा मात्र डेढ लाख केजी उत्पादन भएको तथ्याङ्क छ” । 

नेपाली किसानले किबी उत्पादन गरे पनि भण्डारणमा समस्या हुँदा सस्तोमा बेच्नुपरेको उनको अनुभव छ । उत्पादनस्थलबाट बजारसम्म पुर्‍याउन ‘कुलिङ चेन’ जरुरी हुने उनी बताउछन् । “भण्डारणका लागि उचित व्यवस्था नहुँदा किसानले उत्पादन गरेको किबी चाँडै बिग्रिने समस्या देखिएको छ” ।  

बेमैसममा नेपालमा न्यूजरल्याण्डबाट किबी आयात हुने गरेको कडरिया बताउछन् । विश्वमा सबैभन्दा धेरै न्यूजील्याण्ड र चीनमा उत्पादन हुने किबीले ओगटेको उनको भनाइ छ । 

किसानको उत्पादनलाई सुरक्षित गर्न सरकारले उपयुक्त शीतभण्डारगृह निर्माणमा जोड दिनुपर्ने कडरियाले बताउछन् । “राज्यले आयात प्रतिस्थापन गर्ने हो भने कृषि क्षेत्रमा विशेष लगानी गर्न जरुरी छ”, उनले भने, “वास्तविक किसानले राज्यले दिने सुविधाको उपयोग गर्न पाएका छैनन् ।”

किबी उत्पादनका लागि भाले र पोथी बिरुवा आवश्यक पर्छ । जसका लागि परागसेचनको महत्त्वपूर्ण भूमिका हुन्छ । हावा र माहुरीको भरमा परागसेचन हुँदा किबीखेतीमा चुनौती देखिएको व्यवसायी कडरियाले बताए । परागसेचनका लागि चीन र न्यूजरल्याण्डले अपनाएको प्रविधि स्वदेशमा ल्याउन जरुरी छ 

रासस

प्रतिक्रिया