सुदूरपश्चिमको मुख्यमन्त्रीमा कांग्रेसका शाह नियुक्त

धनगढी । सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त भएका छन् । प्रदेश प्रमुख नजिर मियाँले शाहलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

आइतबार कांग्रेस संसदीय दलको बैठकले शाहलाई मुख्यमन्त्री बनाउने निर्णय गरेको थियो । त्यसलगत्तै एमालेको समर्थनमा शाहले प्रदेश प्रमुख मियाँसमक्ष मुख्यमन्त्रीमा दाबी गरेका थिए ।

एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले मुख्यमन्त्रीमा आफ्नो पार्टीको ११ सांसदको समर्थन कांग्रेस संसदीय दलका नेता शाहलाई रहेको बताएका थिए ।५३ जना प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा बहुमतको सरकार गठनका लागि २७ सांसदको समर्थन आवश्यक पर्छ । कांग्रेसका १८ र एमालेका ११ सांसदको समर्थनमा शाह मुख्यमन्त्री नियुक्त भएका हुन् ।

शाह दोस्रोपटक सुदूरपश्चिमको मुख्यमन्त्रीमा नियुक्त भएका हुन् । पहिलोपटक २६ माघ २०७९ मा मुख्यमन्त्री बनेका शाहले २२ चैतमा राजनीतिक समीकरण फेरिएपछि राजीनामा दिएका थिए ।उनी समग्रमा सुदूरपश्चिमका पाचौं मुख्यमन्त्री हुन् ।

प्रतिक्रिया