कञ्चनपुरबाट नरभक्षी बाघलाई बर्दिया ल्याइयो
बर्दिया । कञ्चनपुरको दोधारा–चाँदनी नगरपालिका–२ स्थित उखुबारीमा ड्रोनको सहायताले पत्ता लगाइएको पाटेबाघलाई लट्ठ्याउने प्रविधि (डार्ट)बाट नियन्त्रणमा लिएर बर्दिया ल्याइएको छ ।
घाँस काटिरहेको अवस्थामा स्थानीय २६ वर्षीया हीरादेवी शाहको ज्यान लिएको उक्त बाघलाई बर्दिया राष्ट्रिय निकुञ्जस्थित रम्भापुर पोस्टको खोरमा राखिएको छ ।
नियन्त्रणमा लिइएको पाटेबाघ १२ वर्षको भाले हो । बाघको एउटा दाँत हल्लिएको, अन्य दाँत खिइएका, नङ्ग्रा भाँचिएका, पञ्जा, खुट्टा कमजोर, ढाडमा घाउ भएको एउटा खुट्टाको घाउमा कीरा परेको निकुञ्जका पशु चिकित्सक आयुष महर्जनले बताए । घटनास्थल क्षेत्र सीमावर्ती भारतीय जङ्गल नजिक रहेकाले बिरामी बाघ उतैबाट आएको हुनसक्ने अनुमान गरिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जका खोरमा ६ वटा समस्याग्रस्त पाटेबाघ राख्नसक्ने क्षमता छ । यहाँ ३ वटा बाघ बिरामी छन् । आर्थिक अभावका कारण पर्याप्त मासु खुवाउन नसकिएको गुनासो निकुञ्जले गरेको छ ।
रासस
प्रतिक्रिया