मुलुकले समृद्धिका लागि नयाँ बाटो खोलिरहेको प्रधानमन्त्री दाहालको दाबी

पचास करोड लगानीका लागि ‘स्वचालित रुट’ प्रणालीको व्यवस्था

प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारले ५० करोड रुपैयाँ सम्मका प्रत्यक्ष वैदेशिक लगानी आवेदनका लागि ‘स्वचालित रुट’ प्रणाली शुरु गरेको बताएका छन । आज काठमाडौंमा नेपाल–युरोपियन युनियन सम्बन्धको ५० औँ वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले शुरुवातसँगै  नेपालमा व्यवस्थापकीय दक्षता र पुँजी भित्रिने विश्वास व्यक्त गरेका हुन । प्रधानमन्त्री दाहालले दिगो विकासको मान्यतामा सरकारले वातावरणीय रूपमा दिगो र आर्थिक रूपमा व्यवहारिक हरित अर्थव्यवस्था पहलहरूलाई प्राथमिकता दिएको पनि बताए ।
प्रधानमन्त्री दाहालले नवीकरणीय ऊर्जा परियोजना, दिगो कृषि अभ्यास र नयाँ प्रविधिहरू अन्वेषण गरिरहेको उल्लेख गरे । नेपालले पेरिस सम्झौताप्रति सधैँ आफ्नो प्रतिवद्धता व्यक्त गरेको बताउनु भयो । नेपालले सन् २०२६ सम्ममा अतिकम विकसित मुलुकको वर्गबाट स्तरोन्नति हुने र सन् २०३० सम्ममा दिगो विकास लक्ष्यहरू हासिल गर्ने लक्ष्य लिएको उनको भनाइ थियो । प्रधानमन्त्री दाहालले यी लक्ष्य पूरा गर्नका लागि विदेशी साझेदारहरूबाट पर्याप्त मात्रामा लगानी र आवश्यक प्रविधि हस्तान्तरण हुनुपर्ने आवश्यकता रहेको स्पष्ट पारे ।  नेपाल सन् २०४५ सम्ममा शुन्य कार्बन उत्सर्जनको लक्ष्यमा पुग्न प्रतिवद्ध रहेको उनले बताए । प्रधानमन्त्री दाहालले वृहत् समृद्धिका लागि नयाँ बाटोहरू खोलिरहेको उल्लेख गर्दै बढ्दो व्यापार र लगानी, पर्यटन, जनताबीचको सम्बन्ध, साझा नवप्रवर्तन र स्थायी मित्रताको माध्यमबाट नेपाल र इयुसँगको सम्बन्धलाई अझ प्रगाढ बनाउन तत्पर रहेको जिकिर गरे । लगानी प्रक्रियालाई सरल बनाउने, व्यवसायका लागि खुलापन सुनिश्चित गर्ने र नवप्रवर्तन र उद्यमशीलताको संस्कृतिलाई बढावा दिने नीतिहरू ल्याएको उनको भनाइ थियो । 
 

प्रतिक्रिया