विद्यालय भर्ना अभियान आजवाट देशभर शुभारम्भ

हरेक वर्ष हुने विद्यालय भर्ना अभियान शैक्षिक सत्र २०८१का लागि आजबाट सुरु भएको छ । यस वर्षको भर्ना अभियानको संकल्प ’सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने रहेको छ । नयाँ शैक्षिक सत्रका लागि आजबाट ७ लाख १३ हजार विद्यालय उमेर समूहलाई विद्यालयमा ल्याउने गरी देशभर विद्यार्थी भर्ना अभियान शुरु भएको हो । अभियानको पहिलो दिन आज आइतबार सबै स्थानीय तहका शिक्षा प्रमुख, एकाइ प्रमुख, नगरपालिका संघ, गाउँपालिका महासंघ, मन्त्रालय र केन्द्रीय निकायको सहभागितामा शिक्षामन्त्री श्रेष्ठको उपस्थितिमा ‘भर्चुअल’ माध्यमबाट अन्तक्र्रिया हुनेछ । विद्यार्थी भर्ना अभियान सुरु भएसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले विद्यालय जाने उमेरका बालबालिकाहरुलाई पायक पर्ने विद्यालयमा भर्ना गरेर नियमित विद्यालय पठाउन सबैलाई अनुरोध गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री दाहालले बालबालिकालाई नियमित विद्यालय पठाउन अनुरोध गरेका हुन् । सरकारले सार्वजनिक विद्यालयका विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक, दिवा खाजा, छात्रवृत्तिका साथै उपयुक्त शैक्षिक पूर्वाधार र विद्यालयमा दक्ष जनशक्तिको व्यवस्थापनमा विशेष जोड दिँदै आएको प्रधानमन्त्री दाहालको भनाइ छ । भर्ना अभियान कार्यक्रमअन्तर्गत विद्यालय जाने उमेर समूह ५ वर्षका ५ लाख र ५ वर्ष उमेर पुगेका तर विद्यालय छाडेका २ लाख १३ हजार विद्यार्थीलाई विद्यालयमा ल्याउन र टिकाइराख्ने सरकारको लक्ष्य छ । अभियानअन्तर्गत शैक्षिक सत्र २०८१ मा १२ लाख १३ हजार बालबालिकालाई विद्यालयमा ल्याउने अपेक्षा छ । यो वर्ष भर्ना अभियानसँगै सबै विद्यार्थीको हातहातमा पाठ्यपुस्तक पुग्नेछ । जनक शिक्षा सामग्री संस्थाले कक्षा शुरू हुनु ४ दिनअघि नै अर्थात् चैत २७ गतेबाट सबै विद्यालयमा पाठ्यपुस्तक पु¥याइसकेको छ । 
 

प्रतिक्रिया