इजरायल–इरान विवाद पुन: चुलियो

काठमाडौं । मध्यपूर्वका दुई देश इजरायल र इरानविच तनाव बढेको छ । इजरायलले इरानका तर्फबाट हुन सक्ने सम्भावित प्रतिशोधात्मक कारबाहीको सामना गर्न उच्च सतर्कतामा रहेको जनाएको छ । यही अप्रिल एकमा इजरायली सेनाले सिरियाको राजधानी दमास्कसस्थित इरानी वाणिज्यदुतावासमा गरेको हवाई आक्रमणमा इरानी रिभोल्युसनरी गार्डका दुई जनरल सहित ७ सात जना मारिएका थिए । सो आक्रमणको बदला लिने प्रतिबद्धता व्यक्त गरेको इरानले कुनै पनि समय इजरायलमाथि आक्रमण गर्न सक्ने सम्भावना रहेको बताइएको हो । इजरायली सेनाका प्रवक्ता ड्यानियल हगारीले इजरायली जनतालाई प्रतिकारात्मक आक्रमणका विरुद्ध विशेष तयारी गर्न नभने पनि सेना भने यसकालागि तयारी अवस्थामा रहेको बताएका हुन । इरान र इजरायलबीच द्वन्द्व सुरु भए मध्यपूर्वमा पूर्ण युद्ध सुरु हुन सक्ने सम्भावनाले अन्तर्राष्ट्रिय समुदायलाई त्रसित बनाएको छ । रुसले दुबै देशलाई संयम अपनाउन आग्रह गरेको छ । अमेरिकाले इरानले इजरायलमाथि आक्रमण गरे आफ्नो देश इजरालयको पक्षमा उभिने बताएका छन ।

प्रतिक्रिया