ठगीको अभियोगमा भियतनामकी प्रख्यात व्यापारी लानलाई मृत्युदण्ड

भियतनाममा अहिलेसम्म भएको सबैभन्दा ठूलो बैंकिङ ठगीका आरोपी ट्रुङ माई लानलाई मृत्युदण्डको सजाय सुनाइएको छ । बैंकबाट ४४ अर्ब डलर ऋण लिएर दुरुपयोग गरेको आरोपमा भियतनामकी प्रख्यात व्यापारी ६७ वर्षकी लानलाई हो ची मिन्ह शहरमा रहेको अदालतले मृत्युदण्डको फैसला सुनाइएको हो । पक्राउ परेकी ट्रुङ माई लानमाथि साइगोन कमर्सियल बैंकबाट ४४ अर्ब डलर ऋण लिएर दुरुपयोग गरेको आरोप छ । अभियोजनकर्ताहरूले २७ अर्ब डलर कहिल्यै पनि फिर्ता नहुने अवस्थामा पुगेको बताएका छन् । यो मुद्दामा २७ सय जनालाई बयान दिन बोलाइएको छ । चिनियाँ–भियतनामी परिवार की  ट्रुङ माई लान लामो समयदेखि भियतनामको प्रमुख व्यापारी र उद्योगीको रूपमा रहेकी छिन् । सन् १९८६ मा सामान्य सौन्दर्यका सामान बेच्दै व्यवसायको शुरु गरेकी लानले सन् १९९० को दशकमा होटल र रेस्टुरेन्टको सञ्जाल फैलाउन थालेकी थिइन् । त्यसपछि घरजग्गा कारोबार र अन्य थुप्रै व्यवसायबाट उनको समूह अर्बपति बनेको थियो । सन् २०११ मा नियम छलेर उनले साइगोन कमर्सियल बैंक किनेकी थिइन् । उनले बैंकमा प्रबन्धकसहित अन्य जिम्मेवार व्यक्ति आफू अनुकूल नियुक्त गरेर नियम विपरीत ऋण लगेको आरोप छ । बैंकको सबै ऋणको ९३ प्रतिशत हिस्सा लानको स्वामित्वमा रहेका कम्पनीमा लगानी भएको देखिएको छ । बैक खराव भएपछि चार अर्ब डलर आफ्ना चालकमार्फत निकालेको उनीमाथि आरोप छ । उनले दुई टन तौल बराबरका नोट कहाँ राखेकी छन् भन्ने पनि खुलेको छैन ।

प्रतिक्रिया