सुनको मुल्यमा आज पनि नयाँ कीर्तिमानी कायमै

काठमाडौं । सुनको भाउ आज पनि कीर्तिमानी मुल्यमा बढेको छ । हिजो तोलामा दुई हजार ९ सय रुपैयाँले बढेको सुनको भाउ आज फेरि ६ सय रुपैयाँले बढेको हो । हिजो छापवाल सुनको भाउ तोलाको एक लाख ३५ हजार ६ सय रुपैयाँ रहेकोमा आज तोलाको एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा धेरै मूल्य हो । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ३५ हजार ५५० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि बढेको छ । हिजो तोलाको एक हजार ६ सय ७० रुपैयाँ रहेको चाँदीको भाउ आज १५ रुपैयाँ बढेर एक हजार ६ सय ८५ रुपैयाँ पुगेको छ ।  पछिल्ला दिनहरुमा दैनिकजसो सुनको भाउ बढ्दै गएको छ । गएको पुसमा तोलाको १ लाख २२ हजार रुपैयाँसम्म पुगेको सुनको भाउ फागुनको शुरुतिर घटेर १ लाख १६ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । फेरि विस्तारै सुनको मूल्य बढ्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेपछि त्यसको असर नेपाली बजारमा पनि परेको हो । रुस र युक्रेनबीचको युद्ध, अमेरिकी डलरको मूल्य मजबुत, अमेरिकाको ऋणको आकार बढ्नुलगायका कारण सुनको भाउ बढ्दै गएको हो । रुस–युक्रेन युद्धका कारण विश्वका व्यवसायी अरु क्षेत्रमा लगानी छोडेर सुन खरिदमा लागेपछि विश्व बजारमा मूल्य बढेको हो ।

प्रतिक्रिया