बजारमा डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १७ हजार पाँच रुपियाँले बढ्यो

काठमाडौं । बजारमा डेढ महिनाको अवधिमा सुनको मूल्य तोलामा १७ हजार पाँच रुपियाँले बढेको छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेपछि त्यसको प्रत्यक्ष प्रभाव स्थानीय बजारमा पर्न गएको हो । फागुनको पहिलो साता प्रतितोला एक लाख १६ हजार पाँच सय रुपियाँमा कारोबार भएको सुनको मूल्य चैत अन्तिम साता बढेर एक लाख ३४ हजार रुपियाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । फागुन महिनामा उतारचढाव रहेको सुनको मूल्य चैत महिना सुरु भएदेखि निरन्तर बढ्दै गएको हो । एक महिनाअघिदेखि सुनको मूल्य निरन्तर बढ्दै गएको छ, अन्तर्राष्ट्रिय बजार हेर्दा सुनको मूल्य अझै बढेर एक लाख ५० हजार रुपियाँसम्म पुग्ने अनुमान छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेर प्रतिऔँस दुई हजार ३०२ डलर पुगेको छ । डेढ महिनादेखि लगातार सुनको मूल्य बढेपछि स्थानीय बजारमा कारोबार ठप्प रहेको छ । लगनको सिजन नभएको र मूल्य निरन्तरण बढेकाले पनि कारोबार न्यून रहेको व्यवसायीको भनाइ छ । सुनको कारोबार घटेर २० देखि २५ प्रतिशतमा झरेको हो ।  हाल दैनिक पाँचदेखि १० किलोसम्म मात्र सुन बिक्री हुने गरेको छ । नेपाल बैङ्कर सङ्घका अनुसार अहिले बैङ्कमा १ सय १७ किलो सुन मौज्दात छरु। लगातार सुनको मूल्य बढेपछि नयाँ गहना किन्नेभन्दा पनि पुराना गहना किन्ने ग्राहक बढी आउने गरेको व्यवसायीको भनाइ छ । चालु आर्थिक वर्षको आठ महिनामा (साउन–फागुन) सुनको आयात ५१ प्रतिशतले घटेको छ । भन्सार विभागको तथ्याङ्क अनुसार १७ अर्ब ५७ करोड ८३ लाख रुपियाँ बराबरको सुन आयात भएको छ । गत वर्ष सो अवधिमा ३५ अर्ब ८६ करोड १४ लाख ९७ हजार रुपियाँको सुन आयात भएको थियो ।

प्रतिक्रिया