सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका सल्लाहकार गुरुङविरुद्ध मुद्दा चल्ने

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका परराष्ट्र सल्लाहकार जीवनकुमार गुरुङविरुद्ध १ सय ३८ किलो सुन तस्करी प्रकरणमा मुद्दा चल्ने भएको छ । सरकारी वकिलको कार्यालयले मुद्दा चलाउने निर्णय गरिसकेकाले आज अभियोगपत्र अदालतमा दर्ता गराइने त्रिभुवन विमानस्थल भन्सार कार्यालयले जनाएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयको अनुसन्धान प्रतिवेदनका आधारमा काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउने भएको हो । गुरुङविरुद्ध १ अर्ब ४० करोड रुपैयाँबराबरको बिगो कायम गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ । पर्वत घर भएका जीवन गुरूङ पूर्वउपराष्ट्रपतिसम्म पहुँच बनाएका व्यक्ति भएकाले अनुसन्धानको दायरामा ल्याइएको थिएन । अनुसन्धान गर्ने निकायको नजरमा उनी फरार थिए । भन्सार कार्यालयले ताकेता गरेपछि प्रहरीले गुरुङलाई फागुन १४ गते पक्राउ गरेको थियो । ६२ वर्षीय जीवनकुमार गुरुङ डिल्लीबजारस्थित प्लाटिनम कलेजका सञ्चालक पनि हुन् । सुन तस्करको गिरोहसँग प्रत्यक्ष संलग्न रहेको र त्यही धन्दा चलाउन जीवन गुरुङले उपराष्ट्रपतिसँगको पहुँचको दुरूपयोग गरी राज्यसंयन्त्रलाई समेत प्रभावित पारेको अनुन्धानको निष्कर्ष छ । गत मंसिर २२ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुनसहित गोरखाका चन्द्र घले पक्राउ परेका थिए । घलेमाथि अनुसन्धान हुँदै जाँदा उक्त गिरोहले १ सय ३८ किलो सुन अवैध तरिकाले ओसारेको खुलेको हो । घलेले दुबईमा अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गरिरहेको भेटिएको पुष्टि भएको हो । सो समूहका मीन घले, कृष्णकुमार श्रेष्ठलगायतले दुबईबाट सुन ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ । अंकित अग्रवालले भनेको स्थानमा सुन लगिदिने काम मीन घले र जोन भन्ने जीवन गुरुङले लगिदिने गरेको अनुसन्धानमा खुलेको छ ।। 

प्रतिक्रिया