प्रधानमन्त्री दाहाललाई बुझाइयो सुन तस्करीको प्रतिवेदन, कार्यान्वयनबारे आन्तरिक परामर्शमा गृहमन्त्री लामिछाने

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले सुनको अवैध पैठारी तस्करी नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएका छन् । प्रतिवेदन बुझ्दै प्रधानमन्त्री पुष्पकमल दाहालले कसैको दबाब र प्रभावमा नपरी प्रक्रियाअनुसार प्रतिवेदन कार्यान्वयनको ग्यारेन्टी गर्न, जुनसुकै दोषीलाई उन्मुक्ति नहुने र निर्दोष नफस्ने वातावरण बनाउन र प्रतिवेदनले औँल्याएका सुधारका पक्षमा पनि तत्काल काम अगाडी बढाउन गृहमन्त्री लामिछानेलाई निर्देशन दिएका छन् । प्रधानमन्त्रीको निर्देशनपछि लामिछानेले प्रतिवेदन कार्यान्वयनबारे आन्तरिक परामर्श थालेका छन् । उनले आजै धसुरक्षा निकायका प्रमुख र छानविन समितिसँग छलफल गरेर कार्यान्वयन प्रक्रिया अघि बढाउने भएका हुन । सुन तस्करीमा संलग्नहरूलाई जोगाउने गरी फितलो अनुसन्धान गरिएको गृहमन्त्री लामिछानेको प्रारम्भिक निस्कर्ष छ । सुन तस्करीमा संलग्न मुख्य अभियुक्तहरूलाई नै बचाउने गरी अनुसन्धान गरिएको र गम्भीर त्रुटि देखिएको उनको ठम्याई छ । अनुसन्धान प्रक्रिया पुन अघि बढाउने तयारीमा पनि गृहमन्त्री लामिछाने रहेका छन । जाँचबुझ आयोगले बिहीबार  प्रतिवेदन गृहमन्त्री लामिछानेलाई १३ परिच्छेदमा ४८५ पृष्ठको प्रतिवेदन बुझाएको थियो । आयोगले ६८ जनालाई कारबाहीको सिफारिस गरेको छ । प्रतिवेदनमा सुन तस्करीमा प्रत्यक्ष र अप्रत्यक्ष रूपमा संलग्न ती व्यक्तिलाई कारबाही गर्न सिफारिस गरिएको हो । प्रतिवेदनमा सुन काण्डमा नियमित सम्पर्क गर्ने व्यक्तिहरूको नामसमेत उल्लेख गरिएको छ तर प्रतिवेदन अध्ययनकै क्रममा रहेकाले ती नाम सार्वजनिक गरिएको छैन । प्रतिवेदनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सिन्धुपाल्चोकको तातोपानी, रसुवाको केरुङ, विराटनगर, वीरगन्जलगायतका अन्तर्राष्ट्रिय नाकाको सुरक्षा प्रणाली अत्यन्तै कमजोर रहेकाले सुधारका लागि सुझाव दिइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट गत साउन २ गते बरामद भएको ६१ केजी र २०७९ पुस १७ गते विमानस्थल भन्सार कार्यालयले विद्युतीय चुरोट भेप भित्र लुकाएर ल्याएको नौ केजी तस्करीको सुन बरामदपछि सरकारले गत असोज १४ जाँचबुझ आयोग गठन गरेको थियो ।। 
 

प्रतिक्रिया