सोनाम ल्होसार पर्वका अवसरमा राष्ट्रपति पौडेलले दिए शुभकामना

काठमाडौ । तामाङ समुदायका सोनाम ल्होसार पर्वका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले शुभकामना दिएका छन् । राष्ट्रपतिको सन्देशमा बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा सोनाम ल्होसार जस्ता पर्वहरूबाट सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि हुनाका साथै यसबाट बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । यस्तै उपराष्ट्रपति रामसहायप्रसाद यादवले सामाजिक एकता सँगै नेपालीको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन सोनाम ल्होसारले सहयोग पुग्ने बताएका छन् । उनले गणतन्त्रात्मक संवैधानिक व्यवस्था प्रणालीले बहुजाति, बहुभाषा, बहुसंस्कृति, बहु–वेशभूषालाई संरक्षण गर्दै सबै क्षेत्र, भूगोल, धर्म, समुदाय र संस्कृतिलाई परस्पर जोड्ने काम गरेको बताएका छन् । यसैगरि प्रधानमन्त्री पुष्पकमल दाहालले सोनाम ल्होसारका अवसरमा शुभकामना दिदै विद्यमान चुनौती सम्बोधन गरी सुशासन र सामाजिक न्याय प्रत्याभूत गराउन सरकार दृढताका साथ अघि बढिरहेको बताएका छन् । संविधानले विविधतामा आधारित राष्ट्रिय एकता र पहिचानलाई संस्थागत गरेको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले सन्देशमा बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषता एवं भौगोलिक विविधतासहितको एकत्वलाई राष्ट्रियताको मेरूदण्डका रूपमा आत्मसात् गरिएको बताएका छन् ।

प्रतिक्रिया