देशभरका अस्पतालका लागि १६ हजार दरबन्दी तत्काल आवश्यक

दरवन्दी स्वीकृत नभए ५ सय शैयाका अस्पतालहरु बन्द हुने चेतावनी

स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालका लागि १६ हजार दरबन्दी तत्काल आवश्यक रहेको जनाएको छ । राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले दरवन्दी स्वीकृत नभए अहिले सञ्चालनमा रहेका ५ सय शैयाका अस्पतालहरु बन्द हुने जानकारी दिएका हुन । हाल सञ्चालनको क्रममा रहेका ५, १० र १५ शैय्याको अस्पतालका लागि अर्थ मन्त्रालयले दरवन्दी थप गर्नुपर्ने उनको भनाइ थियो । 
सचिव पोखरेलले नीति तथा कार्यक्रममा उल्लेख गरिएको विशेषज्ञसहित ५ जना चिकित्सक स्थानीय तहमा पठाउने कुरा सम्भव नरहेको समेत जानकारी दिए । बैठकमा समिति सदस्यहरुले अस्पताल चल्ने व्यवस्था गर्न रोग लाग्नै नदिने गरी जनचेतनामुलक कार्यक्रम सञ्चालनमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराए । 
सांसदहरुले जिल्लामा रहेका सरकारी अस्पतालहरु बन्द हुने अवस्थामा पुग्दा पनि संवेदनशील नभएको भन्दै सरकारको आलोचना समेत गरे । प्रादेशिक स्तरमा रहेका आयुर्वेद अस्पतालहरुबाट जनताले सेवा लिन नपाएकोतर्फ पनि उनीहरुले सरकारलाई सचेत गराए ।
 

प्रतिक्रिया